काठमाडौं, १५ माघ । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीमा माओवादीका उम्मेदवारलाई धोका भएको भन्दै कांग्रेसले माफी माग्नुपर्ने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रिय सभा निर्वाचनमा छ वटा प्रदेशमा राम्रो भएर कोशीमा माओवादीलाई धोका हुनु समीक्षाको विषय रहेको बताएका हुन् । जसले गल्ती गरेको छ, उसले माफी मागेर सत्तारुढ गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनले बताए ।
‘कोशीको जुन घटना भयो, त्यो दुःखदायी हो । समीक्षा गर्ने कुरा हो । यो गठबन्धनमा गम्भीर छलफल गर्न जरुरी छ । छ वटा प्रदेशमा राम्रो भयो । कोशीमा किन नराम्रो भयो ।’ नेता यादवले भने, ‘माओवादीका उम्मेदवारलाई किन धोका भयो ? यो गम्भीर समीक्षाको विषय हो । गठबन्धनभित्र छलफल गर्नुपर्छ । जसले गल्ती गरेको छ, माफी माग्नुपर्छ । समीक्षा गरेर यो गठबन्धनलाई अगाडि बढाउन पर्छ । तर, यो घटनाले गठबन्धनमा फाटो आउँदैन ।’