Logo

पूर्वराजा ज्ञानेन्द्रविरुद्ध प्रचण्ड र ओलीको एकैखालको प्रहार, होला त दरबार हत्याकाण्डको छानबिन ?




काठमाडौं, १६ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई लिएर सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा बेचैनी देखिएको छ । उनीमात्रै होईन, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीपनि पूर्वराजा शाहको सक्रियतालाई लिएर आक्रोशित छन् । दुवै नेताले हिजो (सोमबार) पूर्वराजा शाहविरुद्ध कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्री दाहालले दरबार हत्याकाण्डको बारेमा सरकारले छानबिन गर्ने बताउनु र ओलीले दरबार हत्याकाण्डमा भयानक षड्यन्त्र रहेको भनेर दाबी गर्नु संयोगमात्रै नभएर योजनाबद्ध प्रहार भएको बताउनेहरु पनि छन् ।

नेपालमा राजसंस्था फर्काउने भन्दै एकथरी समूह र पार्टी सक्रियताका साथ लागिरहेको र पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्नो सक्रियता बढाएपछि ठूला कम्युनिष्ट पार्टीका नेताहरुले यसरी सार्वजनिक रुपमै ज्ञानेन्द्रमाथि प्रहार गर्न थालेका छन् । ओलीले त नेपालमा अब राजसंस्था कुनैपनि हालतमा नफर्कने ठोकुवा गरेका छन् । ओलीले राजसंस्था फर्काउने कुरा लुटको राज्य सम्झिएर मुख मिठ्याउने कुरामात्र भएको टिप्पणी गर्ने गरेका छन् । हालै काठमाडौंमा आयोजित ओलीको पनि रोल रहने नमेटिन घाउ नामक चलचित्रको पत्रकार सम्मेलनमा ओलीले राजसंस्था फर्काउनेबारे सोधिएको प्रश्नमा भनेका थिए–‘राजसंस्था कता फर्काउने ? लेफ्ट राइट पूर्व–पश्चिम अगाडि–पछाडि कता ? लुटको राज्य सम्झिएर यसो मुख मिठ्याउने कुरामात्र हो । सिरियस विषय होइन ।’

सोही दिन ओलीले दरबार हत्याकाण्डको जाँचबुझ आयोगले मुख्य जिम्मेवार ठह¥याएका दीपेन्द्रलाई ‘विचरा’ को संज्ञा दिएका थिए । उनको भनाई थियो–‘दरबार हत्याकाण्ड राजनीतिक दलहरूले गरेको होइन । यति भन्न सकिन्छ विचरा दीपेन्द्र ! नेपालीहरूले विवेक गुमाउनु हुँदैन । दीपेन्द्र आफैँ मरेर मरेपछि हान्यो ? एउटा राजा हुन लागेको मान्छे त्यसरी मर्छ ? अगाडि–पछाडिबाट उसैले गोली हान्छ, ३–३ वटा राइफल एउटा पेस्तोल एकैजनाले बोकेर कुद्छ, यस्तो कुरापनि पत्याउने ?’

ओली दरबार हत्याकाण्डमा दीपेन्द्रको प्रेम कहानी भनेर त्यसको पछि कुद्ने कुरा नै वाहियात भएको र भयानक षड्यन्त्र भएको दाबी गरेका थिए । उनको थप भनाई थियो–‘१९ गतेको घटना, २६ गते जाँचबुझ आयोग जाँदा पानी परिरहेको थियो । योबेला एउटा ओभानो टोपी दीपेन्द्र मारिएको भनिएको पोखरी छेउमा तैरिरहेको थियो । ५÷७ दिनदेखि पानी परिरहेको थियो । दीपेन्द्रको टोपी डुबेको पनि छैन, भिजेको पनि छैन । त्यस्तो पनि नाटक हुन्छ ? दीपेन्द्रको प्रेम कहानी भनेर यस्ता वाहियात कुराको पछाडि कुद्न हुन्छ ? त्यो भयानक षड्यन्त्र थियो ।’

राजतन्त्रबारे सबैभन्दा आक्रामक सुनिने नेतामा ओली पर्छन् । उनले सार्वजनिक रुपमै नेपालमा राजतन्त्र फर्काउँछु भन्नेहरू चेतना नभएका मुर्खहरू भएको भनेर टिप्पणी गर्ने गरेका छन्। ‘प्रेतका नलीाखुट्टाको हड्डी फुकेर राजतन्त्र नफर्किने’ ओलीको टिप्पणी छ । राजतन्त्रबारे ओलीले केही समयअघि दिएको अभिव्यक्ति यस्तो छ–‘केही तत्वहरू १५ वर्षअघि फालिसकेको, हेर्दा हेर्दा वाक्क दिक्क भएर जनताले पाल्न नसकिने रहेछ। काम लाग्ने चिजै रहनेछ भन्दै फालेको राजतन्त्र फर्काउने कुरा गर्दैछन्,’ उनले भने, ’चेतना नै नभएका मान्छेहरूले राजतन्त्रको कुरा गर्छन्। नागरिक सर्वोच्चता स्वीकार गर्न नसक्ने, देशभरिका जनतामा सार्वभौमसत्ता भनेर मान्न नसक्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने त्यो चेतना मूर्खता हो।’

ओलीले राजनीतिक, वैचारिक र सैद्धान्तिकरूपले कुनैपनि हिसाबले राजतन्त्र मान्न नसकिने ठोकुवा गरेका छन् । उनको भनाई छ–‘एउटा मान्छेको छोरो जन्मिँदै राष्ट्र प्रमुख भएर जन्मिने, अरुको छोराछोरीले मरिमेटेर हुन नपाउने, त्यस्तो अन्यायपूर्ण विचार बोक्नेहरूका पछाडि नेपाली जनता लाग्दैन ।’

ओलीपछि राजतन्त्रबारे आक्रामक सुनिने अर्का नेतामा पर्छन्–प्रचण्ड । उनले देशलाई अस्थिरतातर्फ डोर्याउनको लागि केही मान्छे प्रतिगामीहरुलाई बोकेर हिँड्न थालेको टिप्पणी गर्दै आएका छन् । उनले नेपाली जनताले जनयुद्ध र जनआन्दोलनको बलमा राजसंस्था फालेको भन्दै अब नफर्कने दाबी गर्ने गरेका छन् । तर, पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रको मधेश भ्रमण र विभिन्न शक्तिपिठमा गरिएका पूजाआजा र पूर्वराजा शाहले दिने गरेका वक्तव्यबाट भने प्रचण्ड आक्रोशित छन् । हिजोमात्रै प्रधानमन्त्री प्रचण्डले ०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । पूर्वराजा शाह अहिले परिवारका सदस्यहरुसहित बाराको सिमरामा एक आफन्तको घरमा बसेका छन् ।

प्रचण्डले सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा हिजो दरबार हत्याकाण्डको बारेमा छानबनि हुने बताएका हुन् । उनले तत्कालीन राजा वीरेन्द्रको वंश विनाश हुनेगरी भएको दरबार हत्याकाण्डको फेरि अनुसन्धान हुने घोषणा गर्नु पूर्वराजा ज्ञानेन्द्र शाहलाई तर्साउन खोज्नु भनेर टिकाटिप्पणी हुन थालेको छ ।

प्रचण्डले अहिलेको व्यवस्थाको बचाउ गर्दै यसले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको दाबी गरेका छन् । तर, अहिलेको व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने काम भएको भन्दै यस्तो अधिकार कसैलाई नभएको भन्दै उनले पूर्वराजा ज्ञानेन्द्रमाथि प्रहार गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहमाथि प्रहार गर्ने सवालमा ओली र प्रचण्ड एक ठाउँमा उभिएका छन् । तर, कतिपय अवस्था दुवै नेताले सल्लाह गरेर नै पूर्वराजाविरुद्ध सार्वजनिक रुपमा प्रहार गरेको हो कि भनेर पनि चर्चा हुने गरेको छ । पछिल्लो समय वामपन्थीहरुबीच एकताको लागि गृहकार्य पनि भैरहेको चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot