काठमाडौं,२२ माघ । शनिबार राती कुटाकुट भएपछि रोकिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन भोलिबाट सुचारु हुने भएको छ ।
आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलपछि मंगलबारबाट अधिवेशन सुरु गर्न नेताहरु सहमत भएका हुन् ।
शुक्रबारबाट सुरु अधिवेशनमा प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेल पक्ष र जिल्ला अध्क्ष भूमिप्रसाद त्रिपाठी समूहबीच विवाद भएपछि अधिवेशन स्थगित भएको थियो । विवाद बढ्दै गएपछि अध्यक्ष ओलीले प्रदेश अध्यक्ष ढुंगेलसहितका ८ नेतालाई काठमाडौं बोलाएका थिए ।
अध्यक्ष अोलीले बोलाएको बैठकमा अरु सबै उपस्थित भएपनि प्रदेश अध्यक्ष ढुंगेल भने नगएको एमाले निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार ढुंगेल भोलिबाट सुरु हुने जिल्ला अधिवेशनमा पनि नजाने भएका छन् । उनले संगठन विभाग प्रमुख काशिनाथ अधिकारीलाई जिम्मा दिएका छन् । स्रोतका अनुसार ढुंगेललाई जिल्ला अधिवेशनमा नजान पार्टी नेतृत्वबाटै निर्देशन दिईएको छ ।
एमाले धादिङको अध्यक्षका लागि वर्तमान अध्यक्ष त्रिपाठी र बागमती प्रदेश सभाका पूर्व सांसद डा रामकुमार अधिकारी आकांक्षी देखिएका छन् ।