Logo

मुख्यमन्त्री कार्कीको प्रश्नः ‘दीपेन्द्र ऐरीले क्रिकेटमा रेकर्ड ब्रेक गरेको कक्षा कोठाबाट कि चौरीबाट ?’



काठमाडौं, २६ माघ । एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की यतिबेला आलोचनाका पात्र बनिरहेका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ दुलारीस्थित साजिलाल माध्यमिक विद्यालयको ५८औँ वार्षिकोत्सव समारोहमा उनले फर्स्ट बेन्चमा बस्ने साथी निजामती कर्मचारीको खरिदार हुँदा लास्ट बेन्चमा बस्ने आफू मुख्यमन्त्री भएको अभिव्यक्ति दिएका थिए ।

‘फर्स्ट बेन्चमा बस्ने ऊ खरदार भयो । म लास्ट बेन्चमा बस्ने मुख्यमन्त्री भएँ । कक्षा कोठामा लिने ज्ञान विविध हुन्छन् । ज्ञानको मापन केवल प्रमाणपत्रमा मात्रै हुँदैन। प्रमाणपत्रको अंकले ज्ञानको मापन हुँदैन। म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ। फर्स्ट बेन्चमा बस्नेले केबल लेख्न, पढ्नमात्रै जान्यो । ऊ अहिले खरिदार छ, म अहिले मुख्यमन्त्री छु,’ उनले भनेका थिए, ‘उसले कसरी हुन्छ भुँडी भर्नमात्रै जान्यो।’

मुख्यमन्त्री कार्कीको अभिव्यक्तिलाई लिएर नेपाल निजामती कर्मचारी संगठन मोरङले आपत्ति जनाएको थियो । कर्मचारी संगठनले मुख्यमन्त्री कार्कीको अभिव्यक्तिले सिंगो राष्ट्रसेवक क्षेत्रलाई दुःखित बनाएको बताएको थियो । कर्मचारी संगठनले मुख्यमन्त्री कार्कीको भाषणलाई उन्मादपूर्ण र निच भनेर टिप्पणीसमेत गरेको थियो ।

आफ्नो अभिव्यक्ति सर्वत्र आलोचना भइरहेको अवस्थामा मुख्यमन्त्री कार्कीले उक्त अभिव्यक्ति कुनै कर्मचारीलाई नभएर आफ्नो साथीलाई भनेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कर्मचारीप्रति आफूले कहिल्यै पनि विभेद नगरेको बताए । उनले चीनमा सम्पन्न भएको १९औं एशियाली खेलकुदमा सबैभन्दा छिटो अर्धसतक पूरा गरेर दुर्लभ विश्व किर्तिमानी कायम गरेका दीपेन्द्र ऐरीले कक्षा कोठाबाट रेकर्ड ब्रेक गरेको हो कि चौरीबाट ? भनेर प्रश्न गरे ।

यो पनि पढ्नुहोस्ः ‘दार्शनिक’ मुख्यमन्त्री कार्कीको ‘भद्दा मजाक’: फर्स्ट बेन्चको खरिदार बन्यो, लास्ट बेञ्चको म मुख्यमन्त्री भएँ

‘दीपेन्द्र ऐरीले क्रिकेटमा रेकर्ड ब्रेक गर्नुभयो, कक्षा कोठाबाट हो कि चौरीबाट हो ? चौरीबाटै हो नि ? कि कपीमा लेखेको नम्बरले हो ?’ प्रश्न गर्दै उनले भने, ‘मेरो साथीको बारेमा मैले कुरा गरेको हो । कुनै कर्मचारीमाथि कुरा गरेको छैन । कर्मचारी मेरो अफिसमा आउनुभयो भने त्यहाँ हेर्नुहोला, कुनै विभेद हुँदैन । कामको आधारमा कुनै कर्मचारीमाथि सम्मान गर्ने कुरामा कमी हुँदैन ।’

चीनमा सम्पन्न भएको १९औं एशियाली खेलकुदमा ऐरीले मंगोलिया विरुद्धको खेलमा ऐरीले ९ बलको सामना गर्दा ८ छक्काको मदतमा ५० रन जोड्दै दुर्लभ विश्वकिर्तिमान कायम गरेका थिए । File Photo/RN

यो पनि पढ्नुहोस्ः कार्कीको फर्स्ट बेञ्चर खरदार र लास्ट बेञ्चर मुख्यमन्त्रीको भाषण उन्मादपूर्ण र निचः कर्मचारी संगठन



प्रतिक्रिया दिनुहोस्