Logo

माओवादीमा ‘कांग्रेससँगको गठबन्धन कति र कहिलेसम्म भन्ने बहस सुरू’



काठमाडौं, २ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय कमिटी बैठकमा आफूहरुलाई निरन्तर घात हुँदै आएको बताए । उनले कोशीमा मुख्यमन्त्री नियुक्ति, राष्ट्रिय सभा सदस्य निर्वाचनलगायतमा कांग्रेसले घात गरेको भन्दै यसबारे गम्भीर समीक्षाको आवश्यकता औंल्याए ।

साथै, वर्तमान मन्त्रिपरिषद्को काम कारबाहीबा प्रधानमन्त्री सन्तुष्ट छैनन् । प्रचण्डले मन्त्रिपरिषद् फेरबदल गर्न चाहेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना मन्त्री नचलाउन दवाब दिएपछि प्रचण्डले मन्त्रिपरिषद् फेरबदलबाट ब्याक भए ।

यस्तै, कांग्रेसबाट पटक–पटक घात भएको र प्रतिनिधि सभा निर्वाचनमा पनि कांग्रेसलाई बोक्दा आफूहरु ३२ सिटमा खुम्चिन परेको माओवादीको निश्कर्ष छ । उसो त आफू प्रधानमन्त्री भएको तेस्रो कार्यकालमा राम्रो गर्ने र राम्रो बाहेक अरु नगर्ने कसम खाएका प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार टिकाउने कामबाहेक अरु केही गर्न सकेका छैनन् । सरकारको नेतृत्व गरेको १४ महिनाको अवधिमा प्रधानमन्त्री प्रचण्डले ललिता निवास जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरण, सुन काण्ड, बाँसबारी छालाजुत्ता कारखाना जग्गा प्रकरण लगायतका ठूला–ठूला काण्डको फाइल खुलेपनि निश्कर्षमा नपुग्दै ति काण्डको अनुसन्धान फितलो बनिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले विभिन्न कार्यक्रममाहरुमा दिने अभिव्यक्तिका आधारमा पनि उनले निश्पक्ष रुपमा कार्यसम्पादन गर्न पाइरहेका छैनन् । अर्कोतिर दैनिकजसो कांग्रेसको एक समूह प्रचण्डको विरोधमा बोलिरहेको छ ।

त्यस्तै, माओवादी नेता एवं सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट कांग्रेसबाट कोशी प्रदेशमा सिधासिधै धोका भएको बताउँछन् । राष्ट्रिय सभाको चुनाव, मुख्यमन्त्री बनाउने सन्दर्भमा अरु प्रदेशको पनि कांग्रेसबाट घात भएको उनको निश्कर्ष छ ।

केन्द्रमा पनि प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसबाट गएका मन्त्रीहरुले दवाब दिएको उनको दाबी छ । राम्रो गरेर देखाउन छोडेर दवाब सिर्जना गर्ने र काम गर्न नदिने प्रवृत्ति कांग्रेसका मन्त्रीहरुका देखिएको उनको दाबी छ । कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको यस्तो प्रवृत्ति र कांग्रेसको असहयोगले माओवादीमा यो गठबन्धन कतिसम्म र कहिलेसम्म भन्ने बहस सुरु भएको उनको दाबी छ ।

‘यसले हाम्रो पार्टीमा एउटा बहस के सुरु गरेको छ भने कांग्रेससँगको गठबन्धन कतिसम्म र कहिलेसम्म ? यो गठबन्धनले हामीलाई कति फाइदा गरिरहेको छ र आम नेपालीलाई कति फाइदा गरेको छ ? भन्ने कुरामा हामी समीक्षा गर्ने ठाउँमा पुगेका छौं । यो बहस पार्टीभित्र चलिरहेको छ,’– नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै भट्टले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot