Logo

पानीको समस्या सम्बोधन गर्न समुदायको नेतृत्वमा मुहान संरक्षणको पहल



काठमाडौँ, ३ फागुन । काभ्रेपलाञ्चोकका सात नगरपालिकाले मध्यपहाडी क्षेत्रमा बढ्दो पानीको असुरक्षालाई सम्बोधन गर्न, समुदायको नेतृत्वमा, समुदायका मूलहरूको पहिचान, अवस्थाको मूल्याङ्कन तथा सङ्कटासन्न मुहानहरूको पुनर्जीवित गर्ने नयाँ अभियानमा ऐक्यबद्धता जनाउँदै समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

नमोबुद्ध, पनौती, धुलिखेल, पाँचखाल नगरपालिका तथा रोशी, बेथानचोक, तेमालका गाउँपालिकाले यसका लागि आज प्रकृतिमा आधारित समाधानका माध्यमबाट मूलाधार संरक्षण कार्यक्रमका निम्ति अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)सँग आशयपत्रमा हस्ताक्षर गरेका छन् ।

हिन्दूकुश हिमालय क्षेत्रमा रहेका लगभग ९० लाख मुहानहरूले पानीको महत्त्वपूर्ण स्रोतको रूपमा सेवा प्रदान गर्दै आइरहेका छन् । तथापि, जलवायु परिवर्तन, भूमिगत पानीको अत्यधिक उत्खनन र भूमि प्रयोग परिवर्तनजस्ता समस्याका कारण पानीका मुहानहरू जोखिममा पर्दै गइरहेका छन् ।

यस परिस्थितिमा बढ्दो सडक निर्माणले निम्त्याउने भू–क्षय र चट्टान अस्थिरताले जोखिमलाई थप बढावा दिएको पाइन्छ । नामोबुद्ध नगरपालिकामा सन् २०२३ मा गरिएको चार सय ४४ मुहानको सर्वेक्षणमा २० प्रतिशत मुहानहरू सुकिसकेको अवस्थामा छन् भने प्रायः मुहानमा पानीको प्रवाहमा कमी आएको देखाएको छ ।

इसिममोडद्वारा हिन्दूकुश हिमालयमा क्षेत्रमा सञ्चालित मूलाधार व्यवस्थापनका उदाहरणीय मूल संरक्षण तथा पुनरुत्थानका कार्यक्रममा स्थानीय सरकारको ऐतिहासिक सम्झौताद्वारा देखाएको ऐक्यबद्धताले अन्य नगरपालिकाहरूलाई पनि आफ्नो बजेट र योजनामा मूलाधार व्यवस्थापन अपनाउन प्रेरित गर्ने जलस्रोतविद्हरूले विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा इसिमोडका मूलाधार व्यवस्थापन प्रबन्धक निर्देशक सञ्जीव भुचरजीले भन्नुभयो, “हिन्दुकुश हिमालयमा पानीको मुहान क्रमशः सुक्दै जानु आजको प्रमुख समस्या हो, तर अहिलेसम्म यस विषयमा पर्याप्त ध्यान वा लगानी आएको छैन । यसर्थ पहाडी समुदायको पिउने पानी, गाईवस्तुका लागि पानी र बालीनालीका लागि पानीको निरन्तर पहुँच सुनिश्चित गर्नु, पानीको अभाव विस्थापन गर्नु, पानीको विवादहरू न्यूनीकरण गर्नु अहिलेको मुलभूत आवश्यकता हो ।”

प्रबन्धक निर्देशक भुचरले भने, “मध्यपहाडी भू–भागका समुदायको, विषेशगरी पानी सङ्कलनमा नेतृत्वदायी भूमिका खेलिरहेका महिला तथा किशोरीहरूको, सहजताका निम्ति मूल तथा मुहानहरूको पुनरुत्थानलाई समुदायस्तरमा सम्भव गराउन सक्नु हाम्रा निम्ति खुसीको खबर हो । यो हाम्रो प्रयासमा स्थानीय सरकारको पनि चासो र समर्थन हुनु र काभ्रेपलाञ्चोकका पालिकाहरूले लिएको अग्रसरताले हामीलाई थप ऊर्जा प्रदान गरेको छ ।”

आजको यस सम्झौताअन्तर्गत इसिमोडले पानीको मुहानहरूको स्थान र स्थितिको विवरणसहित, जल तथा भौगर्भिक विज्ञानको अध्ययनका आधारमा पुनःभरण क्षेत्र पहिचान, सुधारिएको मुहानहरूको प्रवाह र पानीको गुणस्तर, जैविक विविधताको अवस्था, जलवायु सह–लाभहरूको मूल्याङ्कनजस्ता गतिविधिहरू कार्यान्वयन गर्नका लागि सहायता गर्नेछ ।

पहिलेका सिकाइ यी सात पालिकामा लागू गरिएजस्तै अन्य पालिका हुँदै मुलुकभर मूल तथा मुहान संरक्षण सम्बोधनार्थ सहकार्य गर्दै जाने दीर्घकालीन लक्ष्य राखिएको छ ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले भने, “पानीको असुरक्षा त्यसको समुदाय (मानिस, जीविकोपार्जन र जैविक विविधता)मा प्रभाव र यसको प्रभावलाई कम गर्नु, हिन्दूकुश हिमालय क्षेत्रमा रहेका सबै आठ सदस्य राष्ट्रहरूले प्रमुख चिन्ताको रूपमा रहेको छ । त्यसैले अहिले हामीले यसलाई हाम्रो कामको मुख्य केन्द्रविन्दु बनाएका छौँ । यस क्षेत्रमा थप पानीको सङ्कट सम्बोधन गर्न र आगामी दिना आउनसक्ने सङ्कटलाई कम गर्नका निम्ति काभ्रेपलाञ्चोक जिल्लाका पालिकाहरूले यी सामाजिक तथा लैङ्गिक समावेशी समाधान उपायहरू अवलम्बनमा सहकार्य गरेको देख्दा अत्यन्त हर्षित बनाएको छ ।”

सोही कार्यको निरन्तरतास्वरुप बेलायती सरकारको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिसको आर्थिक सहयोगमा सञ्चालित हिमालयन रेजिलियन्स इनेबलिङ एक्सन प्रोग्रामअन्तर्गत प्रकृतिमा आधारित समाधानको विश्वव्यापी मापदण्डअनुरुप नगरपालिका तथा साझेदारसँग सहकार्य गर्दै करिब सात सय ५० वर्ग किलोमिटर क्षेत्रफलको बृहत्रूपमा मूलाधार व्यवस्थापन गतिविधिहरू विस्तार गर्न लागिएको छ ।

इसिमोडको मूल तथा मूलाधार संरक्षण, हिमालयन रेजिलियन्स इनेबलिङ एक्सन प्रोग्रामको एक पाटो हो, जसलाई बेलायती सरकारको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिसले आफ्नो क्लाइमेट एक्सन फर रिसिलियन्ट एसिया पहलको आर्थिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रम हो । यसमा विश्वभरि जल विपन्नाता न्यूनीकरणका क्षेत्रमा काम गर्ने सामाजिक संस्था फ्र्याङ्क वाटरबाट पनि सहयोग गरिएको छ ।

यो आयोजना नेपाल, नर्वे र स्वीडेन सरकारद्वारा समर्थित गरिएको सहनशील पर्वतीय समाधान पहलको कार्यक्रमको निरन्तरताको रूपमा पनि अघि बढेको छ । हिमालयन रेजिलियन्स इनेबलिङ एक्सन प्रोग्रामले स्थानीय सरकार, समुदाय, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवालालाई समेट्दै बाँकी क्षेत्रलाई यी मूल तथा मूलाधार संरक्षण व्यवस्थापनका गतिविधिमा समेटेर दिगो तथा दीर्घकालीन समाधानमा टेवा पुर्याउने लक्ष्य राखेको छ ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले जिल्लाका सुक्खा मुहानलाई पुनर्जीवित गर्न सातवटा नगरपालिका प्रतिनिधिलाई एकजुट हुन आग्रह गरे । रासस



प्रतिक्रिया दिनुहोस्