काठमाडौं,४ फागुन । सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच केन्द्र सरकारमा देखिएको खटपटको असर क्रमश प्रदेश सरकारमा देखिन लागेको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबारबाट सुरु भएको पार्टीको प्रथम विधान अधिवेशनलाई सम्बोधन गर्दै कांग्रेससँगको सत्ता सहकार्य फलदायी नभएको टिप्पणी गरेका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले सशंकित बनेको कांग्रेसले कर्णाली प्रदेश सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दैकर्णालीमा अराजकता पैदा भएको भन्दै सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् । उनले कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरूलाई सरकारबाट बाहिरिन आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘यो अराजकताको अवस्थामा कर्णालीमा कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त हो। सोही बमोजिम कांग्रेसबाट सहभागी मन्त्रीहरूले व्यवस्थापन गर्दा राम्रो होला ।’
सरकारमा कांग्रेसबाट तीन जना मन्त्री छन् । जसमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल, आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णबहादुर बिसी मन्त्री छन् ।