Logo

कालीमाया-रिना हत्याकाण्डः वास्तविक दोषीलाई उन्मुक्ति दिएर आकांक्षा र सुस्मितालाई फसाइएको बाबु तारामानको आरोप (भिडिओसहित)



काठमाडौं, ५ फागुन । रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिका–३ मा २०७९ चैत २२ गते ८ वर्षीय कालिमाया बुढामगर र १० वर्षीय रिना बुढामगरको विभत्स हत्या भयो । कालिमाया र रिनाको हत्या अभियोगमा १३ वर्षीय सुस्मिता बुढामगर र ११ वर्षीय आकांक्षा बुढामगरलाई नियन्त्रणमा लिइयो । तत्कालीन अवस्थामा उनीहरुले घट्ना स्वीकार गरे ।

उनीहरुले घटना स्वीकार गरेकै आधारमा दोषी करार गरियो । सुस्मिता र आकांक्षालाई ६ महिनाको लागि सुधार गृहमा पठाइयो । तत्कालीन अवस्थामा सुस्मिता र आकांक्षाबाहेक उक्त घटनामा संलग्न कोही हुनसक्छ भन्नेबारे कसैलेपनि ख्यालै गरेनन् ।
सुस्मिता र आकांक्षालाई कसैले पनि सहयोग गरेनन् । सुस्मिता र आकांक्षा आफूहरुले दवाबमा उक्त घटना स्वीकार गरेको बताउँछन् । तर, कालिमाया र रिणाको हत्यारा कर्मटेक बुढामगर, विक्रम बुढामगर र दयालु बुढामगर भएको उनीहरुको दाबी छ । सुस्मिता र आकांक्षालाई सुधार गृह पठाइसकेपछि केही समयमा उनीहरुले आफूहरुले उक्त घटना नघटाएको, कर्मटेक, विक्रम र दयालुको डर र दवाबमा आफूहरुले उक्त घटना स्वीकार गरेको र प्रहरीले पनि जबरजस्ती साबिती बयान गराएको भन्दै उनीहरुले घरमा पत्र पठाए ।

सुस्मिता र आकांक्षाले सुधार गृहबाट घरमा पठाएको पत्रको केही पृष्ठ

अहिले उनीहरु सुधारगृहबाट मुक्त भइसकेका छन् । तर, आफूहरुले नगरेको हत्या अभियोग लागेकोमा उनीहरु दुःखी छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सुस्मिताले आफू र आकांक्षा उक्त घटनाको अभियुक्त नभएको बताईन् । गाउँघरमा मेलबाट फर्कने क्रममा कालिमाया र रिणालाई हत्या गरेर बोकेर आउँदै गरेको अवस्थामा भेटेको सुस्मिताले बताईन् ।

‘मल बोकेर फर्कने क्रममा कर्मटेक, विक्रम, दयालुले काली र रिणालाई मारेर ल्याउँदै थिए । हामी दुई जनासँग भेट भयो । तिनीहरुले काली र रिणालाई फालेर हामीलाई समात्न थाले । यिनीहरुलाई मारेको कसैले पनि देखेको छैनन् । अब तिमी दुई जनालाई मानुपर्छ भन्यो । हामीलाई नमार्नु तपाईँहरुले काली र रिणालाई मारेको कसैलाई पनि भन्दैनौं भन्यौं । पुलिसहरु र गाउँलेहरुले थाहा पाएपछि काली र रिणा हामीले मारेका भन भनेर भन्यो । हामीले मागरेको भन्दैनौं भनेको । तिमी दुई जनाको घर परिवारलाई पनि मार्छोैं र तिमीलाई पनि मार्छौं भन्यो । हामीलाई लाश छाम्न पठाए । मेरो साथीलाई र मलाई पनि सलले घाँटीमा बेर्यो । हामीले नै मारेको भन्छौं भन्यौं,’– सुस्मिताले भनिन् ।

लाशलाई विक्रम र कर्मटेकले सुस्मिता र आकांक्षाको डोकामा बोकेर फाल्न गएको र दयालुले आफूहरुलाई समाएर त्यही राखेको सुस्मिताको भनाइ छ । पुलिसलाई हामीले मारेको होईन अरुले मारेको हो भन्दा पिट्छन् भनी डराएर हत्या स्वीकार गरेको उनले बताईन् ।

आकांक्षाले काली रिणाालाई कर्मटेक, विक्रम र दयालुले मारेको बताईन् । आफूहरु मल बोकेर फर्किदै गर्दा बाटोमा उनीहरुसँग जम्काभेट भएको र आफूहरुलाई पनि मार्ने भएपछि हत्या अभियोग स्वीकार गरेको उनको भनाइ छ ।

‘म चैत्र २२ गते मल बोक्न गयौं । हामी मल बोक्दै थियौं । ममीहरु घर फर्किनुभयो । सुस्मिता र म घर फर्किने क्रममा दयालु, कर्मटेक, विक्रमहरुले काली, रिणालाई मारेर ल्याउँदै थिए । एक्कासी बाटोमा भेटभयो । तिनीहरुले कालि, रिणालाई भूँइमा फालेर हामी दुई जनालाई समाते । हामीलाई मार्ने भन्नुभयो । हामीलाई नमार जे भने पनि गर्छौ भन्यौं,’– आकांक्षाले भनिन् ।
त्यस्तै, काली र रिणाका बाबु तारामान बुढाले आफूले न्याय नपाएको बताए । निर्दोषलाई फसाएर वास्तविक दोषीहरुलाई उन्मुक्ति दिइएको उनको भनाइ छ ।

उनले आफूले सुस्मिता र आकांक्षाले उक्त कुरा बाहिर ल्याएपछि प्रहरीमा पुन जाहेरी दिन गएपनि जाहेरीसमेत अस्वीकार भएको बताए । साथै, आफू उच्च अदालत तुलसीपुरमा पुनरावेदन जाँदासमेत पुनरावेदन दर्ता नभएको उनको भनाइ छ । सुस्मिता र आकांक्षाले नाम लिएका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर उक्त घटनाको सुरुदेखिनै छानविन हुनुपर्ने उनको माग छ ।



प्रतिक्रिया दिनुहोस्