काठमाडौं,६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना वरिपरिका मान्छेलाई जोगाउने र निर्दोषलाई फसाउने खेलमा सरकार संलग्न रहेको भन्दै बालकुमारी घटनामा दोषी ठहर भएका मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न चुनौती दिएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले बालकुमारी घटना छानबिन गर्न गठित आयोगले मूख्य दोषी करार गनेरका मन्त्री ज्वालालाई तत्काल पदच्युत गर्न माग गरेका हुन् । यसअघि नेकपा एमालेले पनि मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेको थियो ।
“बालकुमारी घटनामा यो देशमा रोजगारीको अवसर नपाएर विदेशमा रोजगरी गरी परिवार पाल्छु भनेका युवाहरू वीरेन्द्र शाह र सुजन राउतको दिनदहाडै गोली हानी हत्या गरियो र १० लाख दिएर मुख टाल्ने काम गरियो,” लामिछानेले भने, “यसअघिदेखि नै मन्त्री प्रकाश ज्वाला दोषी रहेको भनिदै आएको थियो । अहिले छानबिनले नै उहाँ दोषी रहेको प्रमाणित गरेको छ । यसबारे न प्रधानमन्त्री चुइक्क बोल्नुहुन्छ । न त सम्बन्धित मन्त्रीले नै नैतिकता देखाउनुभएको छ ।” Photo By: Mukunda kalikote/RN