काठमाडौं, ६ फागुन । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले मन्त्रिपरिषद्मा भ्रष्टाचारको आशंकामा मुछिएका व्यक्ति राखेर सरकारको सुशासनको सुगा रटाइ सुन्न आफूहरु तयार नरहेको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आर्थिक अनियमिततामा अख्तियार दुरुपयोग बयानका लागि बोलाएको र केही दिन अघि बयान दिएर आएका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेततर्फ लक्षित गर्दै यस्तो बताएका हुन् ।
नेता बर्तौलाले प्रधानमन्त्रीलाई यो कुरा थाहा छ कि छैन ? भनेर प्रश्नसमेत गरे । ‘उहाँको क्याविनेटमा भएको एक जना मन्त्री भ्रष्टाचारको आरोप लागेर, भ्रष्टाचारको आशंकामा, आर्थिक अनियमितताको आशंकामा केही समय अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानको प्रक्रियामा जोडिनु भएको र उहाँले बयान दिएर आएको कुरा हामीले थाहा पायौं । भ्रष्टाचारको आशंका गरिएको मन्त्रीलाई देशको मन्त्रीको रुपमा राखेर प्रधानमन्त्रीज्यूको सु्शासनको सुगा रटाइ भाषण सुन्न हामी तयार छैनौं,’Þ– उनले भने ।
साथै, बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पदबाट राजीनामा दिनुपर्ने उनको माग छ । साथै, पदबाट राजीनामा नदिए बर्खास्त गर्नसमेत उनले सरकारलाई आग्रह गरे । Photo By: Mukunda Kalikote/RN