काठमाडौं, ६ फागुन । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रम चलिरहेको छ । प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘सरकारले के काम गर्यो र विप्रेषण बढ्यो ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
उनले नेपालको अर्थतन्त्रको सूचाङ्क सकारात्मक छ भन्ने सरकारको दलिल र दाबी आंशिकमात्रै सत्य रहेको बताए । विदेशी मुद्रा सञ्चितिको क्षेत्र सवल देखिए पनि त्यो सरकारको काम कारबाहीको प्रभावका कारण नभएको उनको दाबी छ । उनले आयात घटेको कारण विप्रेषणको रकम बढेको बताए । आन्तरिक उत्पादन बढेर, त्यसले प्रतिस्थापन गरेर आयात नघटेको उनको जिकिर छ । उनले बजार सिथिल भएको कारण आयात घटेको दाबी गरे । विदेशी मुद्रा सञ्चिति बढ्यो भनेर धेरै दंग नपर्न सरकारलाई आग्रह गरे ।
चालु आर्थिक वर्षको ६० प्रतिशत समय सकिँदैगर्दा ४० प्रतिशतको हाराहारीमामात्रै राजश्व उठेको महामन्त्री थापाले बताए । साथै, बल्लबल्ल २१ प्रतिशतको हाराहारीमा पुँजीगत खर्च भएको भन्दै उनले सरकारको ध्यानाकार्षण गराए । उनले आर्थिक वर्षको बाँकी समयमा के त्यस्तो गर्दै हुनुहुन्छ र नउठेको राजश्व उठ्छ र नभएको खर्च हुन्छ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे । साथै, उनले ती काम पहिले नै किन गर्नुभएन भनेर प्रश्नसमेत गरे ।
‘आर्थिक वर्षको बाँकी रहेको समयमा यो गएको पाँच÷सात महिनामा गरेको भन्दा त्यस्तो के फरक गर्दै हुनुहुन्छ ? जसको कारणले गर्दा अहिले नउठेको राजश्व उठ्छ । अहिले नभएको खर्च हुन्छ ? के नयाँ नीति बनाउँदै हुनुहुन्छ ? वा नियतमा बदलाव कसरी ल्याउँदै हुनुहुन्छ ? यो सात महिनामा किन गर्नुभएन ? यो गर्न प्रधानमन्त्रीलाई कसले रोकेको थियो ?’