Logo

एमाले सत्तामा फर्किनेबारे ओलीको चर्चा



काठमाडौं,१० फागुन । नेकपा एमालेको केन्द्रीय कमिटीको सातौ पूर्ण बैठक सम्पन्न भएको छ । तीनदिनदेखि पार्टी मुख्यालय च्यासलमा बसेको केन्दीय कमिटीको बैठकमा विभिन्न समूह बनाएर समूहगत रुपमा छलफल भएको थियो ।

समूहगत रुपमा प्राप्त सुझावसहितका प्रश्नबारे जवाफदिँदै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको समापन गरेका हुन् । बैठकमा अध्यक्ष ओलीले एमाले छिट्टै सत्तामा फर्किन सक्ने संकेत गरेका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार ओलीले बैठकमा सत्ता गठबन्धनमा देखिएको खटपटले गर्दा पार्टी सत्तामा पुग्ने सम्भावना रहेको बताएका छन् ।

अमेरिकी नागरिक आन्दोलन र स्वतन्त्रताको बारेमा गाइएको गीत ‘वीई स्याल ओभर कम’ भन्ने नाराबारे चर्चा गर्दै ज्ञवालीले एमाले सत्तामा फर्किने वातावरण बनेको बताएका छन् । ‘महत्वपूर्ण निर्णयका साथ यो बैठक समापन भएको छ । यो बैठकले मुलुकको गहिरिँदो राजनीतिक संकटप्रति गहिरो चासो राख्दै यो गहिरो संकटलाई मुक्त गर्न एउटा बलियो राष्ट्रिय शक्तिको नेतृत्व एमालेले गर्न सक्छ र मुलुकलाई निकास दिन सक्छ भन्ने कुरालाई प्रमाणीत गर्दै सरकारको नेतृत्व राष्ट्रिय शक्तिको हातमा पुर्याउन सबैखालका कार्यगर्ने गरी अगाडि बढ्ने निर्णय बैठकले गरेको छ’ ज्ञवालीले भने ‘ बैठकको अन्त्यमा सबै केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै अध्यक्ष कमरेडले अमेरिकी नागरिक आन्दोलन र स्वतन्त्रताको बारेमा गाइएको गीत ‘वीई स्याल ओभर कम’ भन्ने गीत सम्झाउँदै नेपालमा पनि यी सबै चुनौतीहरुलाई पार लगाउँदै त्यो परिस्थिति सिर्जना गर्ने गरी लाग्न उर्जा प्रदान गर्नुभयो’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा ज्ञावलीले भने ।

उनले देश र जनताको सरोकारको मुद्दामा जनदबाब र जनपरिचालको एजेण्डा छिट्दै सार्वजनिक गर्ने बताउँदै सदन र आवश्यक परे सडकमा पनि आवाज उठाउने निर्णय गरेको बताए ।

त्यसो त गत आम निर्वाचनपछि केही महिना केन्द्रदेखि प्रदेश सम्म सत्तापक्ष बनेको एमाले एकाएक सातै प्रदेशमा प्रमुख प्रतिपक्षमा धकेलिएको थियो । प्रदेशदेखि संघसम्म प्रतिपक्षमा धकेलिएपछि एमाले सबैतिरबाट एक्लिँदै गएको छ ।

यतिबेला सत्ता गठबन्धनमा रहेका मूख्य दुई दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच खटपट देखिँदै आएको छ । दुई दलबीच देखिएको असमझदारीमा खेलेर एमाले सत्ता परिवर्तको खेलमा लागेको हो । एमालेले निरन्तर रुपमा माओवादी केन्द्रसँग छलफलमा रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै दोस्रो तहका नेताहरुसँग एमाले नेतृत्वले निरन्तर छलफल गरिरहको छन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेसबाट आफ्नो पार्टीले पटक-पटक धोका पाएको भन्दै माओवादीमा चर्को असन्तुष्टि देखिएको छ । पटक-पटक कांग्रेस च्याप्दा पनि आफूहरुलाई धोका नै भएको निष्कर्षसहित माओवादीले गठबन्धन बदल्ने संकेत गरेको छ ।

यता कांग्रेसको आज सकिएको महासमिति बैठकले पनि आगामी निर्वाचनमा कुनैपनि दलसँग गठबन्धन नगर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । कांग्रेसले उक्त प्रस्ताव पारित भएसँगै सत्ता गठबन्धन र सरकारको आयूलाई लिएर चर्चा सुरु भएको छ भने आगामी राष्ट्रिय सभा अध्यक्षको विषयमा पनि दुई दलबीच तीव्र मतभेद देखिँदै आएको छ । सत्ता साझेदार दलबीच देखिएको यहि असन्तुष्टिलाई ध्यानमा राखेर ओलीले आफूहरु छिट्टै सत्तामा फर्किने संकेत गरेको आंकलन भएको हो ।



प्रतिक्रिया दिनुहोस्