–रवीन्द्र मिश्र
बेलाबखत लाग्दथ्यो
अर्ध-अ-सामाजिक र
अर्ध-सामाजिक – सञ्जालमा
गडगडाएर पोखिएका मेरा आदर्श
र मेरो मुटुको आयातनमा
कुन चाहिँ ठूलो होला?
बेलाबखत लाग्दथ्यो
मैले सृजेका साहित्य र कला
पोखेका दर्शन र गरेका भाषण
अनि मेरो नित्य धर्म-कर्म
र मेरो विवेकको आयातनमा
कुन चाहिँ गहिरो होला?
मैले चालेका पाइला
र बोकेका लक्ष्य
मैले कोरेको गोरेटो
र हिँडाएको बाटो
मैले बाँडेको सपना
र मेरो विपनाको आयातनमा
कुन चाहिँ गरूङ्गो होला?
ती मान्छेले देखेको मेरो रूप
ती सुमनले कोरेको मेरो चित्र
तिनले बनाइदिएको मञ्च
लगाइदिएको माला
दिएको पुरस्कार
गरेको जयजयकार
र मेरो इमानको आयातनमा
कुनचाहिँ फराकिलो होला?
समयले घिसार्दै, थचार्दै
पछार्दै र निर्खार्दै जाँदा
म यति बिघ्न सानो
यति बिघ्न सतही
यति बिघ्न हलुका
यति बिघ्न साँगुरो
यति आडम्वरी र विरोधाभाषी
हुँला भन्ने कहिल्यै सोचेको थिइन
म मान्छेका रूपमा जन्मिएँ यस्तै कि
मलाई समाजले बनायो यस्तै?
सँगैको पहाड हेर्छु
त्यो शान्त, सौम्य र अटल छ
मेरो धर्ती भने दिन-दिन भासिँदो छ
दुनियाँको आयातन तौलिन सिपालु मैले
जीवनभर
आफ्नो आयातन तौलिन नसकुँला भन्ने
सोचेकै थिइन
अस्ताचलको सूर्य मैले देखेकै थिइन!
१३ फागुन २०८०