Logo

माओवादी स्थायी कमिटीमा कांग्रेस महासमिति बैठकको ब्यापक चर्चा, प्रचण्डले भने केही बोलेनन्



काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा हालै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठक, उक्त बैठकमा भएका छलफल र पारित प्रस्तावका बारेमा ब्यापक छलफल भएको छ । कांग्रेसले गत फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक सम्पन्न गरेको थियो । उक्त बैठकमा महामन्त्रीद्वय गगनकुमार थापाले सांगठनिक प्रस्ताव, विश्वप्रकाश शर्माले समसामयिक राजनैतिक प्रस्ताव र उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए ।

महामन्त्री थापाले पेश गरेको सांगठनिक प्रस्तावमा आगामी निर्वाचनमा गठबन्धन नगर्ने कुरालाई लिएर माओवादीले छलफल सुरु गरेको छ । त्यसैगरी, उपसभापति खड्काको नीति प्रस्तावमा उल्लेख भएका कतिपय शब्द र बुँदाहरुलाई लिएर माओवादीका नेताहरुले आपत्ति जनाए।

उपसभापति खड्काले पेश गरेको नीति प्रस्तावमा माओवादीले भन्ने गरेको १० वर्षे जनयुद्धलाई ‘माओवादीको हिंसात्मक सशस्त्र द्वन्द्व’ भनी उल्लेख छ । त्यसैगरी ‘अनाहक सशस्त्र हिंसाको राजनीति शुरु भयो’ भनेर माओवादी १० वर्षे सशस्त्र युद्धको औचित्यमाथि नै प्रश्न उठाइएको छ ।

‘तत्कालीन उग्रवामपन्थीहरूले त्यो उन्नति यात्राको प्रस्थान पटक्कै रुचाएनन् । कथित र अनावश्यक सशस्त्र हिंसाको राजनीति शुरु भयो । सशस्त्र द्वन्द्वको नाममा मुलुक फेरि अर्को दलदलको भासमा फस्यो । विकास र सम्वृद्धिको त्यो यात्रा अवरुद्ध भयो । ध्वंश विध्वंशहरू भए । विकास संरचना भत्किए र थप विकास अवरुद्ध भयो । यति धेरै क्षति हुने गरी यो विध्वंशको आवश्यकता थिएन,’– उपसभापति खड्काले पेश गरेको प्रस्तावमा भनिएको छ ।

सत्ता साझेदार रहेको कांग्रेसको महासमिति बैठकमा माओवादीमाथि भएको टीकाटिप्पणी र आगामी निर्वाचनमा गठबन्धन नगर्ने प्रस्तावबारे माओवादी स्थायी कमिटीमो पनि ब्यापक छलफल भएको प्रवक्ता अग्नि सापकोटाले बताए । उनले यस विषयमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज केही पनि नबोलेको बताए । प्रचण्डले स्थायी कमिटी उठेका यी प्रश्नहरुको जवाफ र आगामी रणनीतिबारे भोलि बोल्ने बताए ।

‘नेपाली कांग्रेसको महासमितिको बैठकको बारेमा, त्यहाँ चलेका चर्चाहरु, त्यहाँ भएका छलफलहरु, पारित गरेका विषयहरुमा पनि स्थायी कमिटीका सदस्यहरुले आफ्ना मत राख्नु भएको छ । अध्यक्षले आज खास्सै आफ्ना कुरा राख्नुु भएको छैन,’– प्रवक्ता सापकोटाले भने



प्रतिक्रिया दिनुहोस्

Screenshot