Logo

प्रचण्ड बिच्किन लागेको भन्दै देउवा तनावमा, कारण गगन थापा



काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्ता गठबन्धन टुट्ने भयका कारण तनावमा परेका छन् । खासगरी पार्टीको यही फागुन पहिलो साता सम्पन्न महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाको प्रस्तावको कारण सत्ता गठबन्धनको मुख्य घटक नेकपा (माओवादी केन्द्र) का नेताहरु असन्तुष्ट बनेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले त कांग्रेससँगको सहकार्य आफूहरुको लागि लाभदायी नभएको निश्कर्षसहित अब सोच्ने बेला आएको कुरा पार्टीको केन्द्रीय कमिटी बैठकमा ब्रिफिङ गरेका थिए । प्रचण्डको उक्त अभिव्यक्ति आउनु र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि निरन्तर सम्वाद हुनुले कांग्रेसमा पनि तरंग पैदा भएको छ ।

खासगरी संस्थापन पक्ष माओवादीले एमालेसँग सहकार्य गर्न लागेको भनेर संशकित बनेको छ । महासमिति बैठक जारी रहेकै अवस्थामा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कासहित प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेटवार्ता गरेका थिए । सो भेटवार्तामा देउवाले गठबन्धनको विषय छलफलको विषय बनाईएको भएपनि अहिले त्यसमा पार्टीले कुनै निर्णय नलिने आश्वासन दिलाएका थिए ।

तर, महासमितिको हलबाट चुनावअघिको गठबन्धन बाध्यता भन्दै अब गठबन्धन नगर्ने निश्कर्ष सुनायो । सभापति देउवाले महासमितका निर्णय केन्द्रीय कार्यसमिति बैठकमा संशोधन हुने भन्दै प्रचण्डलाई आश्वस्त पार्नेगरि बोलेका थिए । तर, यो बीचमा प्रचण्डले एमालेसँग सहकार्यको लागि हात अघि बढाइसकेको स्रोतको दाबी छ । राष्ट्रियसभाको अध्यक्षको यही फागुन २९ गते हुने निर्वाचनलाई लिएर माओवादीले एमालेको साथ लिएर अघि बढ्ने रणनीति अख्तियार गरेको छ ।

एमाले नेतृत्वको आड र भरोसाको कारण सो पदमा माओवादीले उम्मेद्वारी दिने भनेको छ । प्रचण्ड र ओलीबीचको निरन्तर भेटवार्ता र सम्वादबारे जानकार रहेका देउवाले बालुवाटार आवातजावत बाक्लो बनाएका छन् । उनले मन्त्रिपरिषद् पूनर्गठन गर्ने प्रधानमन्त्री दाहालको चाहनामा बाधक नबन्नेदेखि राष्ट्रियसभाको अध्यक्षमा पनि माओवादीलाई दिन सकिनेबारे सोच्न सकिने जवाफ दिन थालेको चर्चा छ ।

अहिले वामपन्थी एकताको हल्लाका बीच नेपालका लागि चिनियाँ राजदूतको सक्रियता बढेको भन्दै कांग्रेसीहरुमा पनि माओवादीसहितको अहिलेको सत्ता गठबन्धनको स्थायित्वको बारेमा आशंका पैदा भएको छ । देउवाले महामन्त्री गगनले गठबन्धनको विषय अनावश्यक रुपमा उछालेर सत्ता–सहकार्यको निरन्तरतामा ब्रेक लगाउनेगरि भूमिका खेलेको निश्कर्ष निकालेका छन् ।

आफूनिकट नेताहरुसँग उनले गगनकै कारण माओवादीले कांग्रेससँगको सहकार्यबारे पूनर्विचार गर्न लागेको ब्रिफिङ गर्न थालेका छन् । कांग्रेस वृत्तमा अहिले चर्चामा रहेको वाक्य छ,‘महामन्त्री गगनको कारण सभापतिज्यू तनावमा पुग्नुभएको छ । मुखमै आएको प्रधानमन्त्री पद पनि गुम्ने खतरा छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot