Logo

कांग्रेस महासमिति बैठकमा जनयुद्धबारे ‘बेमौसमी बाजा’ बजाइएको प्रचण्डको निश्कर्ष



काठमाडौं, १७ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसले पार्टीको महासमिति बैठकमा जनयुद्धबारे ‘बेमौसमी बाजा’ बजाएको टिप्पणी गरेका छन् । आज (बिहीबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बोल्नै नपर्ने बेला कांग्रेस महासमिति बैठकमा जनयुद्धबारे बोलिएको बताएका हुन् ।

‘जनयुद्धकै बारेमा अहिले बेमौसमको बाजा, बोल्नै नपर्ने बेलामा किन बोलेको हो ? भन्ने प्रश्न उठेको छ,’– सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्तावमा माओवादीले भन्ने गरेको १० वर्षे जनयुद्धलाई ‘माओवादीको हिंसात्मक सशस्त्र द्वन्द्व’ भनी उल्लेख गरिएको थियो । साथै, ‘अनाहक सशस्त्र हिंसाको राजनीति शुरु भयो’ भनेर माओवादी १० वर्षे सशस्त्र युद्धको औचित्यमाथि नै प्रश्न उठाइएको थियो ।

‘तत्कालीन उग्रवामपन्थीहरूले त्यो उन्नति यात्राको प्रस्थान पटक्कै रुचाएनन् । कथित र अनावश्यक सशस्त्र हिंसाको राजनीति शुरु भयो । सशस्त्र द्वन्द्वको नाममा मुलुक फेरि अर्को दलदलको भासमा फस्यो । विकास र सम्वृद्धिको त्यो यात्रा अवरुद्ध भयो । ध्वंश विध्वंशहरू भए । विकास संरचना भत्किए र थप विकास अवरुद्ध भयो । यति धेरै क्षति हुने गरी यो विध्वंशको आवश्यकता थिएन,’– उपसभापति खड्काले पेश गरेको प्रस्तावमा भनिएको छ ।

महासमिति बैठकमा पेश भएको उक्त प्रस्तावलाई लिएर माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा समेत प्रश्न उठेको थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot