Logo

मृतक शालिनका बुबा दिपेन्द्र भन्छन्, ‘न्यायको सुनिश्चितता नभएसम्म शव जिम्मा लिन्न’



काठमाडौं, १८ फागुन । गोरखा अजिरकोट गाउँपालिका– ५ मुच्चोक स्थायी घर भई चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा अध्यनरत १४ वर्षीय शालिन पोखरेलको शंकास्पद मृत्युलाई उनको परिवारले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएको छ ।

सोही विद्यालयद्वारा सञ्चालित होस्टलमा बस्दै आएकी शालिनको गत फागुन १२ गते शंकास्पद मृत्यु भएको थियो । विद्यालयद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेकी शालिनले आत्महत्या गरेको भनेर पत्याउन सक्ने आधार नै नरहेको उनका बाबु दिपेन्द्रले बताए । उक्त घटनामा प्रमाण लोप गराउने प्रयास भएको दिपेन्द्रको भनाइ छ ।

शालिनले आत्महत्या गरेको भनिएको ठाउँमा आफू पुग्दा सरसफाइ गरिएको र शालिनले लगाएका कपडाहरु पनि सबै भिजाइएको उनको भनाइ छ । साथै, आफूहरुलाई उक्त घटना ढिला गरी जानकारी गराइएको र परिवारको अनुपस्थितिमा होस्टेलको ढोका फोडिएको उनले बताए ।

उक्त घटनामा आफूहरुमाथि विद्यालय प्रशासनदेखि प्रहरी प्रहरी प्रशासनसमेतले दमन गर्न खोजेको दिपेन्द्रले बताए । प्रहरीले पनि आफूहरुमाथि दमनको शैली अपनाएपछि आफूले शव वहानमा हालेर छोरीको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याएर पोस्टमार्टम गराएको दिपेन्द्रले बताए ।

अहिले शालिनको शव त्रिवि शिक्षण अस्पतालमै छ । आफूहरुले न्याय पाउने सुनिश्चितता नभएसम्म शव जिम्मा नलिने दिपेन्द्रले बताए ।



प्रतिक्रिया दिनुहोस्