Logo

भेटवार्ताको निहुँ टिआरसी विधेयकः सत्ता समीकरण उलटफेरको प्रयास



काठमाडौं, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग प्रचण्डले वान टू वान वार्ता गरेका छन् । प्रधानमन्त्री भेट्न देउवा, ओली र नेपाल विहानै बालुवाटार पुगेका थिए ।

भेटमा संक्रमणकालीन न्याय टुङ्गोमा पुर्याउने विषयमा छलफल भएको भनिए पनि वान टु वान वार्ताले आशंका उब्जाएको छ । संक्रमणकालीन न्यायका विषयमा यसअघि संयुक्त रुपमा छलफल हुने गरेको थियो । प्रचण्ड पछिल्लो समय सत्तारुढ दल कांग्रेसबाट असन्तुष्ट छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीबाट माओवादीकी उम्मेदवार चम्पा कार्कीले ब्यहोर्नु परेको हार, कांग्रेस महासमिति बैठकमा जनयुद्ध र माओवादीबारे काग्रेसले प्रस्तुत गरेको धारणा र कांग्रेसका केही नेताहरुले निरन्तर सरकारका विरुद्धमा नकारात्मकता प्रदर्शन गरेको विषयलाई लिएर प्रचण्ड झस्किएका छन् ।

कांग्रेससँगको सत्ता सहकार्य तोडेर एमालेलाई सरकारमा ल्याउने र विस्तारै वाम गठबन्धनमा सहभागी गराउने रणनीति प्रचण्डले अपनाएका छन् । कांग्रेस महासमिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन नगर्ने विषयमा पनि ब्यापक छलफल भएको थियो । कांग्रेसको उक्त नीतिबाट पनि प्रचण्ड झस्किएका छन् । आगामी २०८४ को आम निर्वाचनसम्म एमालेलाई पनि वाम गठबन्धनमा सहभागी गराएर कांग्रेस र वाम गठबन्धनबीच प्रतिस्पर्धाको परिस्थिति निर्माण गर्ने तयारीमा प्रचण्ड छन् ।

सरकारमा सहभागी हुनेबारे एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी उपमहासचिव वर्षमान पुनबीच लामो समयदेखि तयारी भएकोसमेत बताइएको छ । उपमहासचिव पुन र उपाध्यक्ष पौडेलबीचको वार्ता टोलीले सरकारमा सहभागी हुनेबारे मोटामोटी खाका तयार गरिसकेको बताइएको छ ।

यता कांग्रेस सभापति देउवा जुनसुकै मूल्य चुकाएर भएपनि अहिलेको गठबन्धन जोगाउने पक्षमा छन् । गठबन्धन तलमाथि नभए आगामी २२ महिनापछि देउवा प्रधानमन्त्री बन्नेछन् । यसरी केही समयपछि आफ्नो पोल्टामा आउन लागेको प्रधानमन्त्री पद गुम्न नदिने रणनीतिमा देउवा छन् । देउवाले यस पटक प्रधानमन्त्री बन्ने अवसर गुमाएभने उनी अब केहिल्यै प्रधानमन्त्री नबन्ने निश्चित प्रायः छ ।

उनी अहिले दोस्रो पटक सभापति छन् । कांग्रेसको विधानअनुसार उनले अर्को पटक सभापतिमा प्रतिस्पर्धा गर्न पाउने छैनन् । अहिले पनि सभापति देउवालाई संसदीय दलको नेताबाट हटाउन इत्तर समूह निरन्तर लागिरहेको छ । गगन थापा र विश्वप्रकाश शर्मा आफूलाई च्यालेन्ज गर्ने गरी पार्टीको १४औं महाधिवेशनबाट उदाएपछि देउवा थप संकटमा छन् ।



प्रतिक्रिया दिनुहोस्