काठमाडौं, २१ फागुन । नेकपा (एमाले) र माओवादीबीच पुनः सत्ता सहकार्यको यात्रा सुरु भएको छ । एमाले–माओवादी मिलेर बनेको नेकपा विघटन र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए । उनको पार्टी पनि देउवा नेतृत्वको सरकारमा सहभागी भयो । साथै, २०७९ मंसिरमा भएको आम निर्वाचनमा माओवादी–कांग्रेसले गठबन्धन गरेर सहभागी भए ।
निर्वाचनपछि प्रचण्डले पहिलो चरणमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान लिए, देउवा दिन तयार भएनन् । ०७९ पुुस १० अन्तिम समयसम्म पनि प्रचण्ड देउवालाई फकाउन तल्लिन रहे । देउवाले आफ्नो हठ नछाडेपछि उनले ओलीलाई अस्त्रको रुपमा प्रयोग गरे । आधा–आधा सरकारको नेतृत्व गर्ने गरी पहिलो चरणमा प्रधानमन्त्री बने । कांग्रेससँगको टुट्यो ।
प्रचण्ड पहिलो चरणमा प्रधानमन्त्री बनेपनि ओली ‘सुपर प्राइम मिनिस्टर’ हाबी हुन खोजे । जसका कारण प्रचण्ड झस्किए । ओली–प्रचण्डबीचको सत्ता सहकार्यको सपना फागुन २५ (राष्ट्रपति निर्वाचन) सम्म आइपुग्दा भङ्ग भयो ।
- राष्ट्रपति निर्वाचनमा टुटेको एमाले–माओवादी गठबन्धन राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा जोडिने !
- कांग्रेससँगको सहकार्य तोड्ने मुडमा प्रचण्ड, बैठकमा यस्तो ब्रिफिङ…
- प्रचण्डद्वारा वामपन्थी एकताको प्रस्ताव, ओली भेट्न पठाए दूत
त्यसपछि विविध संका–उपसंका, आरोप–प्रत्यारोपबीच अगाडि बढिरहेको माओवादी–कांग्रेसबीचको गठबन्धनमा आज विहानबाट ब्रेक लागेको छ । यद्यपि कांग्रेस–माओवादीबीचको गठबन्धनमा लागेको ब्रेक आकस्मिक भने होईन् । रिपोर्टर्स नेपालले गत माघ ६ गते सत्ता गठबन्धनमा संकट सुरु भएको समाचार प्रकाशन गरेको थियो । त्यसपछि रिपोर्टर्स नेपालले कांग्रेस–माओवादीबीचको गठबन्धन ढाल्नेबारे भइरहेको अभ्यास बेलिबिस्तार सार्वजनिक गर्दै आएको थियो । सम्भवतः कांग्रेस–माओवादीबीचको गठबन्धन टुट्ने र नयाँ समीकरणसहित सरकार बन्नेबारे दाबी गर्दै लेख्ने हिम्मत गर्ने एकमात्र मिडिया रिपोर्टर्स नेपाल हो । गत माघ ६ गते रिपोर्टर्स नेपालले पाएको सूचना र त्यसपछिको फलोअप रिपोर्टका आधारमा तयार भएका समाचार आज आएर पुष्टि भएका छन् ।