Logo

राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिल्नुको विकल्प छैनः शेखर कोइराला



मोरङ, २२ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको गठबन्धनमा सरकार बनाउनु जरुरी रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले मुलुकमा अहिले देखिएको अप्ठ्यारो परिस्थिति अन्त्य गरी आर्थिक विकासका लागि गठबन्धन आवश्यक रहेको बताएका हुन् ।

उनले प्रत्येक वर्ष सङ्घीय र प्रदेशको सरकार परिवर्तनले मुलुकमा समस्या उत्पन्न हुनाले एउटा स्थिर सरकार निर्माणका लागि कांग्रेस र एमालेको बाहेक अन्य विकल्प हुन नसक्ने प्रष्ट पारे । नेता कोइरालाले पहिलो संविधानसभा निर्वाचनमा वामपन्थी पार्टीका चार प्रधानमन्त्री नियुक्त भए पनि संविधान निर्माणका लागि कांग्रेसक नै आवश्यक परेको विगत स्मरण गरे ।

उनले कांग्रेस र एमालेको संयक्त सरकार निर्माणको पहल आफूले सुरु गरेको चर्चा गर्दै समय आएपछि कार्यान्वयन हुने विश्वाससमेत व्यक्त गरे । नेता कोइरालाले संयुक्त सरकार निर्माणका लागि नेता, दलबीच, निर्वाचन प्रणाली कसरी सुधार गर्ने विषयमा छलफल गरी निर्णय हुने बताए ।

कोइरालाले संविधान सुधार, अर्थतन्त्रको चलायमान गराउनु र मुलुकमा राजनीतिक स्थिरता मुख्य आवश्यक्ता रहेको बताए । उनले कोशी प्रदेश सरकारले अहिलेदेखि दुई वर्षसम्म विश्वासको मत लिनु नपर्ने बताए । कोशी सरकार संविधानको धारा १६८ (५) अनुसार निर्माण भएकाले दुई वर्षसम्म विश्वासको मत लिनु जरुरी नभएको बताएका हुन् ।

उनले कोशी सरकार अल्पमतमा समेत नरहेकोले अन्य पार्टीले समर्थन फिर्ता लिए पनि राजीनामा दिनुपर्छ भन्ने नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्