काठमाडौं, २८ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली युवा नेता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले वर्तमान श्रममन्त्री डिपी अर्यालमाथि मान्छे बेचेको आरोप लगाएका छन् । प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘सहकारी ठगहरु छन् यो देशमा । म्यानपावरका ठगहरु छन् । अब म्यानपावरमा मान्छे बेच्ने डिपी अर्याल स्वयम अहिले मन्त्री छन् । उहाँ पहिले मान्छे बेच्दै हिँड्नुहुन्थ्यो ।’ शाहीले सबै नेपाली कि विदेश जानुपर्ने नत्र देशको व्यवस्थाको विकल्प र परिवर्तन खोज्नुपर्ने दुईमध्ये एक विकल्प रोज्नुपर्ने बताए । नेपाली जनताले अहिले गणतन्त्रको विकल्प खोजिसकेको पनि उनको दाबी छ ।
गणतन्त्रले बेरोजगारी र भ्रष्टाचारमात्रै बढाएको शाहीको आरोप छ । उनले टेलिभजनकर्मी हुँदाको रवि लामिछाने र अहिले गृहमन्त्री भएपछिको रवि लामिछानेमा आकाश र जमिनको फरक रहेको टिप्पणी गरे । उनले गृहमन्त्री लामिछाने अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकर्तामा सिमित भएको बताए । उनले भने,‘रवि लामिछानेजीलाई अब रास्वपाको सभापति भन्दापनि प्रचण्डको भातृ संगठनको सभापति भन्दा अनपयुक्त नहोला । किनभने प्रचण्डले जे भन्नुहुन्छ, उहाँले त्यही मान्नुहुन्छ।’