Logo

अमरेश कुमार सिंहको दाबी : कांग्रेस–एमालेको गठबन्धन बन्ने कुरा रागमात्रै अलापिएको हो, प्रचण्ड सरकार एक वर्ष तलमाथि हुँदैन् (भिडिओसहित)



काठमाडौं, ११ बैशाख । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार तत्काल तलमाथि नहुने दाबी गरेका छन् । उनले एक वर्षसम्म सरकार तलमाथि नहुने दाबी गरेका हुन् । सत्ता गठबन्धनमा रहेका माधव नेपालले अहिले बार्गेनिङ गरिरहेको उनको आरोप छ । उनले माधव नेपालमात्रै नभएर उपेन्द्र यादव र रवि लामिछानेपनि बार्गेनिङमै व्यस्त रहेको टिप्पणी गरे ।

उनले भने,‘अहिले सत्ता गठबन्धनमा बसेका सबैले बुझेका छन् की यो गठबन्धन गयो भने ७६ को ३ अनुसार ठूलो पार्टीको हिसाबले शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ । त्यो स्थिति अहिले तत्काल बन्न दिँदैन् । अहिले कांग्रेस र एमालेबीच जुन गठबन्धनको राग अलापिएको छ । त्यो रागमात्रै हो, कुनै यथार्थ होईन । म यो कुरा बडा दाबाको साथ भन्छु । यसमा कुनै सत्यता छैन् । यो राग अलाप्नुको कारण के हो भने यो गठबन्धन भत्किन्छ अनि राष्ट्रपतिले ७६ को ३ बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ भन्ने हो । त्यो कुरामा, यतापनि सबै पूराना सत्ताका खेलाडी छन् । सबै पूर्व प्रधानमन्त्रीहरु छन् ।’

सांसद सिंहले नेपालमा अहिले लोकतन्त्रको विकृत रूपको उपयोग भैरहेको बताएका छन् । उनले नेपालका राजनीतिक दलहरुमा लोकतान्त्रिक संस्कार नभएको आरोप लगाएका छन् । प्राइम टिभीको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले लोकतन्त्रको विकल्प राजतन्त्र वा कुनै तानाशाही शासन हुन नसक्ने टिप्पणी गरेका हुन् । नेपालमा राजसंस्थाको सान्दभर्किता नभएको पनि उनको दाबी छ । उनले अहिले देशको अर्थमन्त्री र प्रधानमन्त्रीको कुर्सीमा पशुपतिनाथलाई नै बसाएपनि देशको अर्थतन्त्र ठीक नहुने बताए ।

सांसद सिंहले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठेपछि सार्वजनिक पदमा बस्न त्यति उचित नहुने सुझाव दिएका छन् । उनले गृहमन्त्रीबाट रवि लामिछानेले राजीनामा दिन विलम्ब गरे रास्वपा र स्वयम लामिछानेलाई पनि बेफाईदा हुने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot