Logo

महाधिवशेनको मुखैमा अध्यक्ष उपेन्द्र यादवलाई पार्टी फुट्ने पीर !



काठमाडौं, १३ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यतिवेला प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारीमा छन् । यादव सरकारमा सहभागी भएदेखि नै उनको पार्टीभित्र विवाद चुलिएको छ । अध्यक्ष यादवसँग आधा दर्जन सांसद असन्तुष्ट रहेको चर्चा छ ।

उनीहरुले जुनसुकै बेला पार्टी विभाजन गर्नसक्ने स्रोतको दाबी छ । पार्टीमा राम्रो प्रभाव जमाएका नेता मोहम्मद इस्तियाक राई अहिले पार्टीमा त्यति सक्रिय छैनन् । यता, अशोक राईको पनि अध्यक्ष यादवसँग यतिवेला त्यति राम्रो सम्बन्ध नभएको गाईंगुईं चल्न थालेको छ ।

राईले यादव सांसद नहुँदाको अवस्थामा संसदीय दलको नेता बन्न चाहेका थिए । तर, यादवले राईलाई रोक्नको लागि रामसहाय प्रसाद यादवलाई अघि सारेर चुनाव गराउन खोजेपछि राई ब्याक भएका थिए । पछि उनै रामसहाय नै दलको नेता भए । त्यतिवेला राईको पक्षमा राजकिशोर यादवलगायतका खुलेका थिए ।

रामसहाय पछि उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचनमार्फत अध्यक्ष यादवले संसदीय राजनीति तय गरेका हुन् । जसपाको एकता महाधिवेशन आगामी जेठ २८, २९ र ३० गते मधेश प्रदेशको राजधानी जनकपुरमा हुनेछ । तर, त्यसअघि नै पार्टी विभाजन हुने भय अध्यक्ष यादवलाई परेको छ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर भएपनि जसपा फुटाउनेगरि गृहकार्य भएको स्रोतको दाबी छ ।

यादव भने जनसंख्यासम्बन्धी कार्यक्रममा भाग लिनको लागि छिट्टै अमेरिका जाँदैछन् । उनी अमेरिका उडेलगत्तै यता पार्टी विभाजन गर्न हतारिएकाहरुले डिसिसिभ-मुभ गर्ने तयारी गरेका छन् । अध्यक्ष यादवले पनि पार्टी विभाजन गर्न खोज्नेहरुमाथि निगरानी राखेका छन् ।

यादवले अमेरिका उड्नुअघि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । कार्यकारिणी समितिको बैठक भोलि (शुक्रबार) विहान ११ बजेको लागि बोलाईएको हो । बैठकले आसन्न महाधिवशेनको तयारीका बारेमा छलफल गर्ने बताईएको छ ।file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot