Logo

उपेन्द्र यादवको संकट झनै गहिरियो, प्रचण्डको मुभले मधेशबाट सत्ताच्युत हुने सम्भावना बढ्यो



काठमाडौं, २७ बैशाख । भर्खरै पार्टी विभाजन व्यहोरेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई एकपछि अर्को संकट थपिएको छ । पार्टी विभाजनपछि उपेन्द्र यादव र प्रधानमन्त्री पुष्पकमल दाहालबीच वारपारको लडाईं सुरू भएको छ । अहिले यादव प्रधानमन्त्री दाहालकै क्याविनेटमा उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन् ।

उनी जनसंख्यासम्बन्धी सम्मेलनमा भाग लिनको लागि अमेरिकामा रहेको बेलामा अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको छ । यादव पक्षले प्रधानमन्त्री दाहालको संलग्नतामा पार्टी विभाजन भएको गम्भीर आरोप लगाएको छ । तर, प्रधानमन्त्री दाहालले भने जसपा, नेपाल विभाजनमा आफ्नो कुनै हात नभएको स्पष्ट पारेका छन् ।

यादवले हिजोमात्रै आकस्मिक पत्रकार सम्मेलन गरेर पार्टी विभाजन असंवैधानिक भएको र त्यसका विरुद्ध अदालतमा चूनौति दिने घोषणा गरेका छन् । यादवले बहुमत सदस्यहरु आफूसँग रहेको पनि जिकिर गरेका छन् । अहिले मधेश प्रदेशको नेतृत्व जसपा, नेपालबाट सरोज यादवले गरेका छन् । सरकारमा प्रधानमन्त्री दाहालको दल माओवादी पनि सहभागी छ ।

तर, विकसित राजनीतिक घट्नाक्रमलाई ध्यान दिएर प्रधानमन्त्री दाहालले आजै सरकारबाट बाहिरिन मधेश प्रदेश कमिटीलाई निर्देशन दिएका छन् । मधेश प्रदेश संसदीय दलका माओवादीका दलतका नेता भरत साह यतिवेला विनाविभागीय मन्त्रीको जिम्मेवारीमा छन् ।

प्रधानमन्त्री दाहालले भरत साहलाई फोन गरेर तत्काल सरकारबाट बाहिरिन निर्देशन दिएपछि अहिले माओवादी मधेश प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ । बैठकले सरकारबाट बाहिरिएको घोषणा गर्नेछ । प्रधानमन्त्री प्रचण्डको यो मुभले मधेश प्रदेश सरकारबाट पनि उपेन्द्र यादव आउट हुने सम्भावना बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot