Logo

प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग लतारिन लागेको भन्दै रवि लामिछाने सरकार छोड्ने मुडमा !



काठमाडौं, ३० बैशाख । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा आफूलाई केन्द्रमा राखेर संसदीय छानबिन समिति बनाईए सरकारबाट नै बाहिरिने तयारीमा जुटेका छन् । रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले कांग्रेसले आफूविरुद्ध गलत मनशाय राखेर छानबिन समिति बनाउन खोजेको भन्दै समिति बनाईए सरकारमा नबस्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराईसकेका छन् ।

लामिछानेले यही अडान प्रमुख सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पनि गराईसकेका छन् । कांग्रेसले भने गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको प्रमाण भेटिएको भन्दै तत्काल छानबिन समिति नबनाईए सदनको अवरोध कायमै रहने र उत्पन्न परिस्थितिको जिम्मा सत्ता पक्षले लिनुपर्ने अडानमा छन् ।

बजेट अधिवेशन सुरु भएको पहिलो दिनमै संसद्मा सत्ता पक्ष र प्रतिपक्षबीच भीडन्तको दृश्य देखिएपछि प्रधानमन्त्री दाहालले सदनको अवरोध हटाउनको लागि गम्भीर वार्ता सुरु गरेका छन् । उनले नेपाली कांग्रेसका नेताहरुसँग आज विहानमात्रै बालुवाटारमा छलफल गरेका छन् । सो छलफलमा प्रधानमन्त्री दाहालले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न सकिने वचन दिएको कुरा बाहिर आएको छ । प्रधानमन्त्री दाहालसँगको कांग्रेस नेताहरुको भेटवार्तामा पार्टीको तर्फबाट सहभागी नेता रमेश लेखकले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको कुरा मिडियालाई प्रतिक्रिया दिएका थिए ।

उनले मिडियासँगको कुराकानीमा भनेका थिए,‘हामीले सहकारी सन्दर्भमा जे कुरा उठाउँदै आएका छौं, संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले आफ्ना कुरा राखेका छौं। प्रधानमन्त्रीज्यूसँग यो बारेमा कुराकानी भयो, हामीले आफ्ना कुरा राखेका छौं। प्रधानमन्त्रीजीले सकारात्मक ढंगले लिनुभएको छ। सकारात्मक कुरा नै छ। हामीले हाम्रो कुरालाई यथावत् राखेका छौं। प्रधानमन्त्रीजीले सकारात्मक कुरा गर्नुभएको छ।’

प्रधानमन्त्री दाहालसँगको भेटवार्तापछि कांग्रेसले भोलि बस्ने संसदीय दलको बैठकबाट थप निर्णय लिने भएको छ । तर, अहिले कांग्रेस नेताहरु रणनीति तय गर्न आन्तरिक छलफलमा छन् । प्रधानमन्त्री दाहालसँगको भेटवार्तामा सहभागी कांग्रेस महामन्त्री गगन थापाले भने आफ्नो समूहका नेता डा. शेखर कोइरालासँग अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेका छन् ।

उता, गृहमन्त्री लामिछानेले आफूलाई मात्रै केन्द्रित गरेर छानबिन समिति बनाईए सरकारबाट बाहिरिने सन्देश बालुवाटारलाई पठाएका छन् । रास्वपा सरकारबाट बाहिरियो भने प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । रास्वपाले चाल्ने सम्भावित कदम र लिने निर्णयबारे प्रधानमन्त्री दाहाल सचेत छन् ।

उनले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि कांग्रेसको अडान र आफूले लिन लागेको निर्णयबारे संक्षिप्त कुराकानी गरेको बुझिएको छ। प्रधानमन्त्री दाहाल आज चितवन जाने भएका छन् । चितवनमा सोमबार विहान ९ बजेको एक कार्यक्रम समापन गरेर काठमाडौ फर्किनेबित्तिकै उनले सदनको अवरोध हटाउनेबारे बोल्ड निर्णय लिने बुझिएको छ ।

गृहमन्त्री लामिछानेले भने प्रधानमन्त्री दाहाल कांग्रेसको अडानका सामू झुक्न खोजेको र लतारित लागेको भन्दै आफूले तत्कालै सरकारबाट बाहिरिने संकेत उनीनिकट नेताहरुसँग गर्न थालेका छन् । प्रधानमन्त्री दाहालले कुन टिओआरसहित संसदीय छानबिन समिति बनाउने हो त्यो हेर्नुपर्ने कतिपय रास्वपा नेताहरुको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्