Logo

उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने



काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई समेटेर मन्त्रिपरिषद् पूनर्गठनको अन्तिम तयारी गरेका छन् । उपेन्द्र यादवको दल जनता समाजवादी पार्टी, नेपाल विभाजन भएर बनेको जनता समाजवादी पार्टीका सांसदहरु प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खानलाई समेटेर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पूनर्गठनको तयारी गरेका हुन् ।

प्रधानमन्त्री दाहालले आजै सरकारमा सहभागी जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा दिन सुझाएका थिए । यादव अहिले उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन् । पार्टी विभाजन भएको एक साता बित्नै लाग्दापनि यादव अझै सरकारमा टाँसिएर बसेका छन् । उनले पार्टी विभाजनपछिको पहिलो पत्रकार सम्मेलनमा आफूहरु सरकारबाट बाहिरिने पक्षमा नभएको र प्रधानमन्त्री दाहालले हटाएमात्रै बाहिरिने बताएका थिए । प्रधानमन्त्री दाहालले भने आजै यादवलाई राजीनामा दिन निर्देशन दिएको बालुवाटार स्रोतको दाबी छ ।

उपेन्द्रले आफ्नो पार्टी प्रधानमन्त्री दाहालले नै फुटाएको आरोप र अब फुट्ने पालो प्रचण्डको पार्टी भनेर खुलासा गरेका छन् । अहिले प्रधानमन्त्री दाहाल र उपेन्द्र यादवबीच वारपारको लडाईं सुरु भएको छ । प्रधानमन्त्री दाहालको निर्देशनमा नै मधेश सरकारबाट माओवादी बाहिरिएको छ । माओवादीसँगै एमालेपनि बाहिरिएको छ ।

मधेश प्रदेशमा एमाले र माओवादीले जनमत पार्टी र लोसपासँग मिलेर सरकार गठनको गृहकार्य थालेका छन् । सम्भवतः भोलिसम्म सरकारको नेतृत्वमा यीनै चार दलबाट दाबी पेश गर्नेगरि तयारी थालिएको छ । यता केन्द्रमा भने अशोक राई नेतृत्वको जसपाबाट प्रदीप यादवलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिनेगरि प्रधानमन्त्री दाहालले तयारी गरेका छन् । बालुवाटार स्रोतकाअनुसार यादवलाई भोलि नै मन्त्रीमा नियुक्त गरिनेछ ।

जसपाबाट रञ्जु ठाकुरपनि मन्त्री बन्नेछिन् । ठाकुरलाई दिईने मन्त्रालयको भने टुँगो लागेको छैन् । यस्तै, हसिना खानलाई स्वास्थ्य राज्यमन्त्री बनाईनेछ । अहिलेका वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुँडीलाई पनि निरन्तरता दिने बालुवाटारको तयारी छ । प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर नै यस्तो निर्णय लिन लागेका हुन् ।

प्रधानमन्त्री दाहालमाथि माधव नेपालको दल नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी दुवै जना मन्त्रीहरुलाई पनि हटाउन ओलीको दबाब छ । अहिले माधव नेपालको दलबाट धनबहादुर बुढा र भानुभक्त जोशी मन्त्रीको जिम्मेवारी छन् । बुढा सहकारी विकासमन्त्री र जोशी सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा छन् ।

पछिल्लो राजनीतिक विकसित घट्नाक्रमअनुसार प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्ति पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनेगरि आफूलाई तयार गरेका छन् । मधेश प्रदेशमा जनमतको प्रवेश भए केन्द्रमा पनि उसको सरकारमा सहभागिता सुनिश्चित् हुने बालुवाटार स्रोतको दाबी छ ।

यसको लागि एमाले र माओवादी वा एमालेमध्य एक दलले एउटा मन्त्रालय त्याग गर्नुपर्ने हुन्छ । त्यसको लागि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच पनि मोटामोटी सहमति भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्