Logo

आजपाका नेता र भन्सार विभागका अधिकारीबीच आजपनि वार्ता



काठमाडौं, २ जेठ । भन्सार ऐनमा लुटकारी प्रावधान राखिएको भन्दै ती प्रावधान हटाउनको लागि महिनौंदेखि आन्दोलनमा रहेको प्रभु साह नेतृत्वको आम जनता पार्टीसँग भन्सार विभागले वार्ता गरेको छ । हिजोदेखि नै विभागका अधिकारीहरु आजपाका नेता तथा कार्यकर्ताहरुसँग वार्तामा बसेका छन् । आजपनि वार्ता जारी रहेको आजपाकी नेतृ रञ्जु साहले जानकारी दिईन् ।

आजपाको जनवर्गीय संगठन आम सम्पर्क मञ्च र सरकारबीचको आजको वार्ताले निकास निकाल्नेमा आन्दोलनकारीहरु विश्वस्त छन् । भन्सार विभागको भित्र वार्ता जारी छ भने बाहिर प्राङगणमा भने आन्दोलनपनि जारी छ ।

वार्तामा सरकारको तर्फबाट महानिर्देशक ढुण्डी प्रसाद निरौलासहितको टोली छ । आन्दोलनकारीको तर्फबाट आजपाका उपाध्यक्ष तिलक थापा, प्रवक्ता चन्द्रभूसन साह, संघर्ष समितिकी संयोजक रन्जु कुमारी साहसहितको टोली सहभागी छ । आम सम्पर्क मञ्चले भदौदेखि शुरू गरेको आन्दोलनको आज चौथो चरणअन्तर्गत भन्सार विभाग घेराउ भईरहेकोछ ।

सरकारसमक्ष आजपाले राखेका मागहरुमा भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कारसम्बन्धी सम्पूर्ण प्रावधान हटाउनुपर्ने मुख्य माग रहेको छ । यस्तै, कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउनुपर्ने पनि उसको माग छ ।

भन्सार महशुल नबुझाएकै कारण निजी सम्पति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गर्ने कुरा राख्नुपर्ने आजपाको माग छ । प्रत्येक व्यापारिक नाकाहरुमा भन्सार कार्यालय स्थापना तथा स्तरवृद्धि गरिनुपर्ने, घरायसी प्रयोजन र व्यापारिक प्रयोजनका वस्तुहरुको पहिचानको स्पष्ट व्यवस्था गरी घरायसी प्रयोजनको लागि ल्याइने उपभोग्य वस्तुहरुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गरिनुपर्ने आजपाको माग छन् ।

यस्तै, भन्सारबाट उठेको राजस्व रकमको २५ प्रतिशत सम्बन्धित प्रदेशलाई र २५ प्रतिशत सिमासँग जोडिएका पालिकाहरुलाई दिने व्यवस्था गरिनुपर्ने उसको माग छ ।



प्रतिक्रिया दिनुहोस्