Logo

कैलाश सिरोहिया पक्राउबारे बोल्यो बार,‘प्रतिशोध साँध्ने उद्देश्यले राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य हुँदैन’



काठमाडौं, ९ जेठ । नेपाल बार एशोसिएशनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नाटकीय ढंगबाट पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । आज (बुधबार) विज्ञप्ति जारी गर्दै बारले प्रतिशोध साँध्ने उद्देश्यले राज्य शक्तिको दुरुपयोग भएको बताएको हो । नेपाल बार एशोसिएशनले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य नहुने बताएको छ ।

‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आलोचनालाई मुखरित गर्ने स्रोतको रुपमा रहेको पत्रकारिता जगतमाथि प्रहार गरिनु लोकतन्त्र माथिकै प्रहार हो । प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य हुँदैन,’– विज्ञप्तिमा भनिएको छ ।

सिरोहियाको पक्राउ आम सञ्चार जगतलाई आफू अनुकूल प्रयोग गर्ने मनसायबाट प्रेरित भई राज्य शक्तिबाट भएको दमनको रुपमा बारको निश्कर्ष छ । प्रतिशोध राखी सिंगो सञ्चार जगतलाई आतंकित पार्ने कार्यको घोर भर्त्सना गरेको छ । भविष्यमा त्यस्ता कार्य नगर्न नगराउनसमेत बारले सरकारको ध्यानाकार्षण गराएको छ ।

सिरोहियालाई प्रहरीले हिजो कान्तिपु्रको कार्यकक्षबाट पक्राउ गरेको थियो । नागरिकताको विषयमा छानविन गर्न भन्दै धनुषा प्रहरीले उनी विरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । कान्तिपुरले भने सहकारी ठगी प्रकरणमा समाचार लेखेको विषयमा प्रतिशोध साँधेर पक्राउ गरिएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot