काठमाडौं, १९ जेठ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटको छलफलमा सक्रिय रुपमा सहभागी हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । आज (शनिबार) पार्टी संसीय दलको बैठकलाई सम्बोधन गर्दै उनले बजेटमा उल्लेख रहेको करका दर, भन्सार महसुल, अन्तशुल्क, आय, व्यायको अनुमानलगायतको विषयमा केन्द्रीत हुन भनेका हुन् । ओलीले बजेटप्रति असन्तुष्टि जनाउँदै माओवादीको जस्तोमात्रै देखिएको बताए ।
उनले सरकारमा सहभागी दलहरुबीच समान्य छलफलसमेत नभइ बजेट ल्याइएको बताए । ‘यो बजेट एकदमै सामान्य हिसाबले भन्ने हो भने सरकारमा सहभागी दलहरुबीच परामर्श गरेर छलफल गरेर आएको होईन । धेरै राम्रो बजेट हुनसक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ,’– उनले भने ।
रकमको बाँडफाँड पनि एकातिर ढल्किएको उनले बताए । बजेटको निर्माण प्रक्रियामै गम्भीर त्रुटी भएको बताए । समाजवाद उन्मुख बजेट आउनुपर्नेमा त्यो हुन नसकेको उनले बताए । बजेटलाई समर्थन गर्ने बताउँदै ओलीले यसको अर्थ बजेटमा रहेको कमजोरी औंल्याउनै हुँदैन भन्ने नहुने बताए । छलफलका क्रममा आफ्नो क्षेत्रका विषयमा प्रश्न उठाउन उनले सांसदहरुलाई निर्देशन दिए ।
साथै, बजेटका आएका केही शब्दहरु उपयुक्त नरहेको उनले बताए । बजेटमा उल्लेख भएको ‘जनयुद्ध’ शब्दलाई लक्षित गर्दै उनले भने, ‘यस बजेटमा प्रयोग भएको केही शब्दहरुको उपयुक्त प्रयोग नहुने कुरा अथवा केही शब्दहरुको प्रयोग भएको, त्यसमा भएको भाव, अर्थ र महत्वलाई बोक्न नसकेको त्यस्तो खालको स्थिति छ कि ? ती कुराहरुमा पनि हामीले छलफल गर्नुपर्छ,’– उनले भने ।