Logo

राष्ट्रिय राजनीति तातिएको बेलामा प्रधानमन्त्री दाहालको भरतपुर घुमेका तस्विर सार्वजनिक



काठमाडौं, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल अघिल्लो हप्ता दुई दिन राष्ट्रिय राजनीतिबाट ओझेल परेका थिए । उनी परिवारसहित गृहजिल्ला चितवनको चितवन जंगल रिसोर्टमा बास बस्न पुगेका थिए । छोरीहरु रेनु र गंगा दाहालसहित चितवनको उक्त रिसोर्टमा पुगेका प्रधानमन्त्री प्रचण्डले जिप सफारीदेखि बोटिङसम्म गरेका थिए ।

राष्ट्रिय राजनीति संग्लिएपछि प्रचण्ड छोटो फ्यामिली भ्याकेसनको लागि गृहजिल्ला पुगेका हुन् । राष्ट्रिय राजनीतिमा महत्वपूर्ण निर्णय लिने बेलामा दाहाल बेला बेलामा काठमाडौं छोड्ने गरेका छन् । यसपटक पनि उनी केही न केही नयाँ कदम चाल्ने रणनीतिसहित चितवन पुगेको हल्ला चलेको छ ।

आज (सोमबार) काठमाडौंमा प्रधानमन्त्री दाहालको अत्यन्तै व्यस्त कार्यतालिका देखिएको छ । आज विहान सबेरैदेखि उनी उच्चस्तरको राजनीतिक भेटवार्तामा व्यस्त देखिएका छन् । सुरुमा सत्ता समिरणमा रहेको दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटेका दाहालले सोलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त रुपमा भेटेका थिए ।

देउवा बाहिरिएपछि उनी झण्डै आधा घण्टा ओलीसँग वान टु वान भेटवार्ता बसे । त्यसपछि उनी सिधै सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयमा आए । सिंहरबारमा पनि उनी ओली र माधव नेपालसँग भेटवार्तामा व्यस्त भए । त्यसपछि अहिले अपरान्ह ४ बजे उनी बालुवाटार फर्किए । उनी सिंहदरबारबाट बालुवाटार फर्किँदा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेपनि सँगै निस्किएका छन् । उनीहरु अघिपछि गरेर बालुवाटार हानिएका थिए ।

यसरी राष्ट्रिय राजनीति तातिएको बेलामा प्रधानमन्त्री प्रचण्डको सचिवालयमा रहेकी छोरी गंगाले दुई दिनअघि चितवनमा भएको फ्यामिली भ्याकेसनको तस्विर सार्वजनिक गरेकी छिन् । अहिले प्रचण्डकी छोरी दोस्रो कार्यकालको लागि भरतपुर महानगरको प्रमुखको जिम्मेवारीमा छन् । उनले केही समयपहिले भरतपुर भ्रमण वर्षको तामझामसहित उद्घाटन गरेकी थिईन् । अहिले गंगाले पनि ‘भरतपुर भ्रमण वर्ष, घुमौं भरतपुर’ लेखेर दुई वटा तस्विर सार्वजनिक गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot