काठमाडौं, २८ जेठ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) मा सरकारका काम कारबाहीलाई लिएर असन्तुष्टि चुलिएको छ । सत्ता समीकरणको सबैभन्दा ठूलो दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच फेरि आरोप–प्रत्यारोप सुरु भइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीले सत्ता समीकरण परिवर्तन हुनेबेला गरेको सहमति कार्यान्वयन नगरेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपाल चिँढिएका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी गठनबन्धनको बैठकमा सहभागी भएपछि समीकरणमा रहेका दलहरुबीच झनै अविश्वासको वातावरण बनिरहेको छ ।
मधेश सरकार गठनमा एकीकृत समाजवादीले अन्तिम समयमा गएर सत्ता समीकरणलाई सहयोग गरेको थियो । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता नपाए मधेशका मुख्यमन्त्री सतिषकुमार सिंहलाई विश्वासको मत नदिने बताउँदै आएको छ ।
त्यस्तै, एकीकृत समाजवादीका प्रभावशाली नेता विरोध खतिवडा सत्ता समीकरणमा रहेका ठूला दलले आफ्नो खुट्टामा आफैं बञ्चरो हान्ने काम गरिरहेको बताउँछन् । सरकारका गएको औचित्य पुष्टि हुन नसक्ने र आफूहरुसँग भएका सहमति तोडिने अवस्थामा सरकारबाट बाहिरिने पनि उनले बताए । सहमति टुट्ने प्रक्रिया पनि सुरु भइसकेको उनले बताए ।
नेता खतिवडाले अर्को सरकार बन्ने वातावरण निर्माण भएको खण्डमा वर्तमान सरकार छाड्ने संकेत गरे । उनले भने, ‘छोड्ने, बस्ने भनेको अर्को सरकार बन्ने वातावरण पनि बन्नुपर्यो । विना सरकारको मुलुक राख्नै भएन । एउटा सरकार बनाएर देशलाई डेलिभरी दिनुपर्ने दायित्व राजनीतिक दलको भएको हिसाबले हाम्रो पनि दायित्व छ ।’