काठमाडौं,२८ जेठ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सभाका सांसद फणिन्द्र देवकोटा माओवादी केन्द्रकै सांसद भएको प्रष्ट पारेको छ ।
आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटा आफ्नो पार्टीका सांसद भएको । उनलाई पार्टीको ह्वीप लाग्ने बताए ।
‘यहाँ कुरा आइरहेको नेसपा। हाम्रो घेराभन्दा बाहिरको पार्टी छ। तर, संसदभित्र त्तयो पार्टी छैन। म एकजना त्यसको सदस्य हुँ भनेर भन्नुहुन्छ, तर उहाँ गण्डकी प्रदेशसभामा नेकपा माओवादी केन्द्रको सदस्य हुनुुहुन्छ,’ चुमानले भने।
उनले मुख्यमन्त्रीले विश्वासको मत मागेको सन्दर्भ कोट्याउँदै अब संविधानको धारा १६८ को उपधारा ५ अर्थात् जुनसुकै बहुमत जुटाउने सांसदले बहुमत पुर्याएर मुख्यमन्त्री बन्ने वातावरण बनाउन आग्रह पनि गरे।
‘हिजो हामीले निर्णय गरेका छौँ, यसपटक हामीले माननीय सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिन सकिँदैन,’ उनले भने, ‘त्यसकारण हामी सबै संसद्मा अनिवार्य उपस्थित भएर विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ। यसकारण हाम्रो संसदीय दलको सबै सदस्यलाई लागू हुन्छ। अहिले हामीले विश्वासको मत दिन नसकिने निर्णय अनुसार विपक्षीमा उभिन्छौँ।’
गण्डकीमा ६० सदस्यीय प्रदेश सभा छ । मुख्यमन्त्री रहेको दल नेपाली कांग्रेससँग २७ सांसद छ् । उनलाई विश्वासको मत पुर्याउन ३१ जनाको समर्थन चाहिन्छ । उनलाई २ सीट भएको राप्रपाले समर्थन गरेको छ ।
राप्रपाकै समर्थन भयो भने पनि कांग्रेसलाई दुईजना सांसद अझै अपुग हुन्छ।
स्वतन्त्र सांसद दीपक मनाङेले सार्वजनिक रुपमै मध्यावधिमा जान नदिने र जसले ३० जनाको समर्थन जुटाउँछ आफू उतै लागेर ३१ अर्थात् बहुमत पुर्याइदिने बताउँदै आएका छन्।
सोमबारको बैठकमा मनाङे विपक्षीकै बेञ्चमा बसेका छन्।
मनाङेले विश्वासको मत दिँदा पनि मुख्यमन्त्री पाण्डेलाई अझै एकजना सांसदको समर्थन चाहिन्छ। त्यो भनेको नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्यसमेत रहेका फणिन्द्र देवकोटाको समर्थन हो।
तर, उनी पनि आजको बैठकमा विपक्षी बेन्चमै बसेका छन्। उनीहरू दुवैको मत पाउन पाण्डेलाई जरुरी छ।