काठमाडौं, २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन हिजो भारत प्रस्थान गरेका प्रचण्ड आज नेपाल फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए । सो अवसरमा प्रधानमन्त्रीको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
भारत भ्रमणका क्रममा मोदीसँगको भेटघाटमा अन्य कुराका अलावा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनका बारेमा विशेष पहल भएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा मोदीसँग गहन छलफल गरेको बताए ।
साथै, भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा गरेको पनि उनले सुनाए । प्रधानमन्त्री प्रचण्डका अनुसार भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा भ्रमण नेपाल भ्रमण गर्ने जानकारी गराएका छन् ।
साथै, प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेको पनि बताए । भेटका अवसरमा नेपाल र भारतबीचको सदियौँ पुरानो एवं घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप मजबुत तुल्याउने बारेमा छलफल भएको प्रचण्डको भनाइ छ ।
त्यसैगरी, भारतका नवनियुक्त संघीय मन्त्री डा.एस जयशंकरले आफूसँग शिष्टाचार भेट गरेको पनि उनले जानकारी गराए । प्रधानमन्त्री प्रचण्डले जयशंकरसँगको भेटका अवसरमा नेपाल र भारतबीच विविध पक्षमा रहेको सहयोगात्मक सम्बन्धलाई सुदृढ गर्दै जाने बारेमा छलफल तथा विचारको आदान–प्रदान भएको बताए ।