Logo

निकट भविष्यमा नेपाललाई हिन्दुराष्ट्र बनाएरै छाड्छौंः कांग्रेस नेता भण्डारी (भिडिओसहित)



काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले पार्टीको महासमिति बैठकले सनातन हिन्दुराष्ट्रको प्रस्तावलाई उपस्थित सदस्यको बहुमतले पारित गरेको खुलासा गरेका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले महासमिति बैठकमा हिन्दुराष्ट्रको प्रस्ताव बहुमत सदस्यले ताली बजाएर पारित गरेको बताएका हुन् ।

‘पार्टीभित्र हाम्रो ठूलो जनमत छ । महासमिति बैठकमा मैले नै प्रस्ताव गरेर बहुमत सदस्यले ताली बजाएर समर्थन गर्नुभएको छ । निकट भविष्यमै हामी नेपाललाई सनातन हिन्दुराष्ट्र बनाएरै छाड्छौं,’– उनले भने ।

नेता भण्डारीले २०७२ सालको संविधान जारी गर्दा नेपालका राजनीतिक दलहरु प्रभावमा परेर धर्म निरपेक्षता लादेको आरोप लगाए । उनले धर्म निरपेक्षता जनताको भावना र राष्ट्रियता विरोधी व्यवस्था रहेको बताए ।

संविधानमा धर्म निरपेक्षतालगायतका केही व्यवस्थाहरु गलत रहेको दाबी गर्दै उनले अब त्यसलाई सच्याएर जान आवश्यक रहेको बताए । उनले आफूहरु अहिले सोही बहसमा रहेको र केही समयमै उक्त बहस लिएर जनतामाझ जाने पनि बताए ।

समाजमा रहेको छुवाछुत, विभेदलगायतका कुरीतिको फाइदा उठाएर विदेशीहरुले नेपालमा धर्म निरपेक्षताको एजेण्डा घुसाउन सफल भएको उनको भनाइ छ । नेता भण्डारीले विदेशी शक्तिहरुले नेपालको समाज खल्बल्याउने र संस्कार संस्कृतिलाई समाप्त पारी नेपालीहरुलाई आपसमा लडाएर आफ्नो स्वार्थ पूरा गर्न खोजेको बताए ।

‘हाम्रो समाजभित्र केही सामाजिक कुरीतिहरु छन्, विसंगतिहरु छन् । त्यसको फाइदा उठाउने काम पनि भएकै थियो । हाम्रो देशको गरिबीको फाइदा उठाउने काम भएको थियो । विशेषगरी नेपाली राजनीतिक नेतृत्वलाई पनि प्रभावमा पारेर विदेशी शक्तिबाट खेलहरु भएका छन् ।’ उनले भने, ‘नेपालको समाजलाई खल्बल्याउने, नेपालको संस्कार, संस्कृतिलाई समाप्त पार्ने र यसलाई कमजोर बनाएर नेपालीहरुलाई लडाएर, भिडाएर आफ्नो स्वार्थ परिपूर्ति गर्ने उद्देश्य हो । त्यो हामीले बुझेका छौं । हामी नेपाली जनताको माझमा व्यापक बहसमा जान्छौं ।’



प्रतिक्रिया दिनुहोस्