Logo

एमालेको माग- नेपालको भारत नीति के हो ?, प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे संसद्लाई जानकारी गराउनुपर्छ



काठमाडौं,२९ जेठ । नेकपा एमालेले नेपालले भारतप्रति लिने नीति कस्तो हो भन्नेकुरा प्रष्ट हुनपर्ने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमोल स्थायी कमिटीका सदस्यसमेत रहेका सांसद रघुजी पन्तले नेपालले भारत नीतिबारे प्रष्ट पार्नुपर्ने बताए । उनले भारतमा जुनसुकै दलले सरकार बनाए पनि नेपालप्रति आफ्नो नीति प्रष्ट रहँदा नेपालले पनि सोही अनुसार गर्नुपर्ने बताए ।

“प्रधानमन्त्रीजीले बाहिर मिडियामा मात्रै भनेर हुँदैन, यहाँ आएर भारतसँग के-के विषयमा कस्तो-कस्तो कुराकानी भयो, दुईपक्षीय हितका विषयमा के-कस्ता योजनाहरूबारे छलफल भयो । यसबारे प्रधानमन्त्रीले संसद्‌लाई जानकारी दिनुपर्छ,” उनले भने ।

सांसद पन्तले प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहरण समारोहमा उपस्थित भएर फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भ्रमणबारे आजै संसद्लाई जानकारी गराउनुपर्ने बताए । पन्तले प्रधानमन्त्रीलाई सो विषय जानकारी गराउन माग गर्दै रुलिङ गर्ने अधिकार सभामुखमा रहेको भन्दै रुलिङ गर्न माग गरे ।

‘भर्खरै प्रधानमन्त्री दिल्ली गएर आउनुभयो, हिजो आएर उहाँले एयरपोर्टमा बोलेको कुराहरू अखबारमा हेरेँ, कुनै विषयमा बाँकी छैन, हाम्रो सम्बन्ध मित्रतापूर्ण रुपमा अघि बढेको भन्नुभएको थियो। यसअघि पनि यस्तै यस्तै भन्नुहुन्थ्यो,’ सांसद पन्तले भने, ‘तर, सीमाको समस्या त्यतिकै छ, इपीजीको प्रतिवेदन त्यतिकै छ, भारतसँग थाति रहेका समस्याहरू जस्ताको तस्तै छ। त्यसैले सभामुखज्यूबाट रुलिङ हुनुपर्छ।’



प्रतिक्रिया दिनुहोस्