Logo

अखिल (क्रान्तिकारी) रुपान्तरण अभियानले तीब्रता लिँदै, उमेरहदको पक्षमा चर्को मत



काठमाडौं, २९ जेठ । अखिल (क्रान्तिकारी) रुपान्तरण अभियानमा लागेका विद्यार्थी नेताहरुले संगठन वास्तविक र नियमित विद्यार्थीहरुको हातमा फर्काउने अभियानलाई तीब्र गतिमा अगाडि बढाएका छन् । २३औं राष्ट्रिय सम्मेलनमार्फत उमेर हद र वास्तविक विद्यार्थीका मुद्दाहरुलाई संस्थागत गराएरै छाड्ने उनीहरुको लक्ष्य छ ।

संगठन रुपान्तरण अभियानमा लागेका विद्यार्थी नेताहरुले निरन्तर विभिन्न क्याम्पसमा भेला गर्दै तल्लो कमिटीसम्म आफ्नो आवाज पुर्याउने कोशिश गरिरहेका छन् । संगठन रुपान्तरण अभियानमा रहेका विद्यार्थी नेताहरुले अस्कल क्याम्पस, चक्रवती हावी एजुकेसन र नेपाल ल क्याम्पसमा कार्यक्रम गरिसकेका छन् ।

अखिल (क्रान्तिकारी), नेपाल ल क्याम्पसका अध्यक्ष ओम प्रकाश सुनारले २१औं राष्ट्रिय सम्मेलनदेखि नै उमेरहदको चर्को आवाज उठेको बताए । पटक–पटक बहुसंख्यक विध्यार्थीको आवाज हुँदाहुँदै पनि नेतृत्वले जालजेलपूर्ण रुपमा दबाउँदै आएको उनको भनाइ छ । उनले अभियानका सक्रिय विद्यार्थी नेताहरुको ठम्याइ पनि यही नै रहेको बताए ।

‘विगत लामो समयदेखि विभिन्न माध्यमबाट उठिरहेको यो मुद्धा अनामनगर भेला  पश्चात् अझ शसक्त र नियमितरुपमा अघि बढेको छ। यो एउटा आन्दोलन हो र यसलाई हामी अखिल (क्रान्तिकारी) रुपान्तरण अभियान भन्न रुचाउँछौं,’– सुनारले भने ।

अखिल (क्रान्तिकारी) शंकरदेवका अध्यक्ष विरेन्द्र जिसीले संगठन रुपान्तरणको मुद्दा उपत्यकाका केही विद्यार्थी नेताहरुको मात्रै नभएको बताए । उनले संगठन सुधारको मुद्दा देशभरका आम अखिल (क्रान्तिकारी) निकट साथीहरुको आवाज रहेको बताए । अध्यक्ष जिसीले अखिल (क्रान्तिकारी) लाई माया गर्ने देशभरका विद्यार्थीहरुको मत संगठन रुपान्तरणको पक्षमा रहेको बताए ।

अस्कल क्याम्पसका स्ववियु सभापती प्रेम जैसीले अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर केन्द्रिय कमिटीले गठन गरेको विधान मस्यौदा समितीद्वारा आयोजित प्रदेश स्तरिय भर्चुअल सुझाव संकलन बैठकमा  सबै प्रदेशबाट उमेरहदको पक्षमा चर्को आवाज उठेको बताए । उमेरहदको आवाज ९० प्रतिशतभन्दा माथि विद्यार्थीहरुले चासोको विषय रहेको पनि उनले बताए ।

अखिल (क्रान्तिकारी) ताहचल क्याम्पसका अध्यक्ष दिपेन्द्र शाहीले कलम, कापीको मूल्य जान्ने, परिक्षा सेडुलको जानकारी राख्ने र विद्यार्थी परीचय पत्र बोक्ने, नियमित र वास्ताविक  विद्यार्थीहरुको हातमा संगठनको नेतृत्व  नफर्किउन्जेल अभियानबाट आफूहरु पछि नहट्ने बताए ।



प्रतिक्रिया दिनुहोस्