काठमाडौं, जेठ ३० । जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्व चयनका लागि आन निर्वाचन हुँदैछ। सोमबारदेखि जनकपुरमा जारी एकता महाअधिवेशनको तेस्रो दिन आज बिहानदेखि नेतृत्व नयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ ।
पार्टी प्रवक्ता मनिष सुमनका अनुसार बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको छ भने उम्मेदवारको नामावली प्रकाशन १० बजे गर्ने निर्वाचन तालिका छ। पदाधिकारी तथा सदस्यहरूको मनोनयन पत्रमाथि दाबी विरोधका लागि १० बजेदेखि ११ बजेसम्मको समय तोकिएको निर्वाचन समितिले जनाएको छ।
साढे ११ बजेदेखि साढे २ बजेसम्म मनोनयन पत्र फिर्ता लिनका लागि समय दिइएको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली दिउँसो ३ बजे प्रकाशन गर्ने कार्यतालिका छ। अपराह्न ४ बजेदेखि बेलुकी ८ बजेसम्म मतदान हुने निर्वाचन हुने छ।
२०१ सदस्य केन्द्रीय नयाँ केन्द्रीय समिति चयन गर्ने छ । हाल विधान अनुसार १५१ सदस्य केन्द्रीय समिति गर्ने प्रावधान छ । तर, विधान संशोधनको प्रस्ताव दर्ता भएकाले पारित भएर केन्द्रीय समिति २०१ सदस्यको बनाइने छ ।
त्यस अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत २०१ सदस्य चयन गर्ने तयारी छ । महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ । सात सचिवमा भने प्रादेशिक क्लस्टरका आधारमा हुनेछ।
केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव पुनः दोहोरिने सम्भावना छ । अन्य पदमा भने प्रतिष्पर्धा हुनेछ । २०६३ मा मधेशी जनअधिकार फोरम गठन भएदेखि नेतृत्वमा रहेका उपेन्द्रले यसपालि पहिलो पटक महाधिवेशनको सामना गर्न लागेका छन्।