Logo

‘कसैलाई केही थाहै नहोस्’



रवीन्द्र मिश्र-

तिम्रो र मेरो माया
यस्तो होस् कि
कसैलाई केही थाहै नहोस्

घना जङ्गलमा जोडिएका पंक्षी जस्तै
विशुद्ध खोलामा मस्किएका माछा जस्तै
मध्य फाँटमा बेरिएका सर्प जस्तै
मौरी जस्तै, भमरा जस्तै
एक्लै हिँडेका यात्री जस्तै
कसैलाई चासै नहोस्
कसैलाई ख्यालै नहोस्
यस्तो माया होस् कि
कसैलाई केही थाहै नहोस्

झ्यालबाट लुसुक्क पसेको
चाँदनी जस्तै
कोठाबाट बिस्तारै हराएको
प्रकाश जस्तै
को आयो अनि को गयो
कहिँ कतै संकेतै नहोस्
तिम्रो र मेरो माया
यस्तो होस् कि
कसैलाई केही थाहै नहोस्

ईश्वरमा लीन भएको जोगी जस्तै
सुल्फामा मस्त भएको भोगी जस्तै
म तिमीमा विलिन हुन्छु र हराउँछु
म प्रेमार्थना गर्छु र स्थिsssर हुन्छु
म लीन भएको नि
कसैलाई ज्ञानै नहोस्
म स्थिर भएको नि
कसैलाई भानै नहोस्
तिम्रो र मेरो माया
यस्तो होस् कि
कसैलाई केही थाहै नहोस्

तिम्रो र मेरो माया
ताज महल जस्तो होस्
तर ताज महल
कसले बनायो, कसले सजायो
कसैलाई केही थाहै नहोस्
तिम्रो र मेरो माया
राधा-कृष्ण जस्तो होस्
तर
राधालाई कसले नचायो
बाँसुरी कसले बजायो
कसैलाई केही थाहै नहोस्

गहिरो होस्, अति गहिरो होस्
यति गहिरो होस् कि
कसैले नाप्नै नसकोस्
अल्को होस्, अति अल्को होस्
यति अल्को होस् कि
टाकुरा कसैले देख्नै नसकोस्

तिम्रो र मेरो माया
अमर होस्, अदृश्य होस्
अदृश्य होस् र अमर होस्
केवल तिमी-मलाई आभास होस्
कसैलाई केही थाहै नहोस्।



प्रतिक्रिया दिनुहोस्