Logo

बिडारीको गम्भीर आरोप : अहिलेका सांसदहरु भत्ता पचाउनेबाहेक अरु काम गर्नसक्ने अवस्थामा छैनन् (भिडिओसहित)



काठमाडौं, ३० जेठ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामनारायण बिडारीले अहिले देश उँधोगतिमा गैरहेको टिप्पणी गरेका छन् । उनले अहिले एमाले–माओवादी सहकार्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन नमिलेको भएपनि दिमाग चाहीँ मिलेको बताए ।

मन नमिलिकन दिमाग मिलेपछि एमाले नेताहरुले सरकारको र प्रधानमन्त्री दाहालको आलोचना गरेको उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशमा जनुसुकै सरकार आएपनि परराष्ट्र सम्बन्ध एकै किसिमको हुनुपर्नेमा जोड दिए । बिडारीले नेपालका अहिलेका सांसदहरु भत्ता पचाउनेबाहेक अरु केही काम गर्नसक्ने अवस्थामा नरहेको दाबी गरे ।

उनले भने,‘यी सांसदहरु भत्ता पचाउबाहेक केही काम गर्नसक्ने अवस्थामा छैनन् । यिनीहरुलाई रोजगारी दिएको हो । प्रदेश सभा र संघीय संसदमा रोजगारीको निम्ति सांसदहरु आएका छन् । एउटा जागिर खाएका छन् । उनीहरुले एउटा निजामती कर्मचारीले गर्नेजत्तिपनि काम गर्दैनन् । कुनै चिज बोलिहालेपनि बोल्नको लागि बोल्छन् ।’



प्रतिक्रिया दिनुहोस्