Logo

बजेटले जनतामा ऋणको भार थप्योः कांग्रेस नेता पौडेल (भिडिओसहित)



काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले ल्याएको बजेट कर्मकाण्डी रहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बजेटले चालु खर्च घटाउने, प्रशासन सुधार गर्ने, सुशासन कायम गर्ने, विगतका कमी कमजोरीलाई सुधार गर्नेलगायतका कुनै पनि कुरालाई सम्बोधन गर्न नसकेको बताएका हुन् । बजेट ल्याउनका लागि मात्रै लाइएको र यसले नेपालीहरुलाई ऋणको भार बढाएको उनको आरोप छ ।

‘हामीले बजेट राम्रो ल्यायो भनेर भनेकै छैनौं । सरकारले अहिले ल्याएको बजेटको विरोध गर्ने विषय आफ्नो ठाउँमा छ । बजेट ल्याउने जुन परम्परा हो, जसरी पहिला बजेट ल्याइन्थ्यो, अहिले पनि त्यसरी नै ल्याइयो । यस्तो यो कर्मकाण्डी बजेटले हाम्रो आम परम्परालाई सुधार गर्न सक्दैन । यो बजेटले चालु खर्च घटाउने कुरा ल्याएकै छैन । प्रशासन सुधार गर्ने काहीँ केही कुरा ल्याएकै छैन ।’ उनले भने, ‘सुशासनलाई कायम गर्नेगरी, विगतका कमी कमजोरीलाई हटाउने गरी काहीँ केही कुरा ल्याएकै छैन । देशको विकासको प्राथमिकता निर्धारण गर्नेगरी बजेट विनियोजन गरिएको, योजना छनोट गरिएको कुनै पनि सेक्टरमा बजेटको प्राथमिकता निर्धारण गर्न सकेको आवस्था छैन । आम नागरिकको जीवनसँग जोडेर बजेटले प्रष्टता दिन सकेको छैन । खासगरी बजेट ल्याउनका लागिमात्रै ल्याउने काम छ । यसलाई हामीले सुधार गर्नुपर्छ । यो बजेटले ऋणको भार बढाएको छ ।’

साथै, सरकारले बजेट कनिका छरेजसरी छरेको र प्राथमिकतामा नभइ बहुँचका आधारमा वितरण गरेको उनको टिप्पणी छ । आम नागरिकमा संघीयतामाथि वितृष्णा बढिरहेको अवस्थामा संघीय बजेटले चालु खर्च घटाउने र पूजी खर्च शतप्रतिशत घटाउनुपर्नेमा यसो हुन नसकेको उनले बताए । भ्रष्टाचारका विषयहरु सतहमा आउनुलाई पारदर्शिता बढ्दै गएको रुपमा लिनुपर्ने उनले बताए । यसले भ्रष्टाचार नियन्त्रण गर्न सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot