Logo

बाढीपछि बैठक होइन, उद्धारमा जुटौं, यसपालि दृश्य बदलौं: महामन्त्री शर्मा



काठमाडौं,३१ जेठ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरण सम्बन्धी संशोधित ऐन, ०७५ बमोजिम व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बिहीबार बोल्दै सांसद शर्माले बाढीपहिरोपछि आपतकालीन बैठक बस्ने दृश्य बदल्नुपर्ने बताएका हुन् ।

उनले बाढीपछि बैठक नभई उद्धारमा जुट्न आग्रह गरे । जलवायु परिवर्तन, भौतिक विकासका लागि जङ्गलको विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग आदि कारणले नेपाल प्राकृतिक प्रकोपले ग्रसित भएको उल्लेख गर्दै भूगर्भविद्हरुले औँल्याएका पहिरोको जोखिम बस्तीहरू स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राख्न आग्रह उनले गरे ।

‘बर्खाको समयमा हाम्रो देशमा ३ वटा दृश्य देखिने गरेको छ । पहिलो– बाढीपहिरो, दोस्रो आपतकालीन बैठकहरू र तेस्रो दलहरूको वक्तव्य अनि संसद्मा सांसदहरूको ध्यानाकर्षण,’ शर्माले बैठकमा भने, ‘यसपालि दृश्य बदलौं । ध्यानाकर्षणका लागि बाढी नकुरौं । बाढीपछि बैठक होइन, उद्धारमा जुटौं । जस्तो कि हामी जान्दछौं– गाउँमा कसैको घरमा आगो लाग्दा मान्छेले बैठक गर्दैनन्, पानी खोज्छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot