Logo

‘मृत्यु आखिर मृत्यु नै हो’



रवीन्द्र मिश्र-

मृत्यु आखिर मृत्यु नै हो’
मेरो पनि एकदिन
उसकै जसरी मृत्यु हुनेछ
निर्वस्त्र-निर्धन आएको थिएँ
निर्वस्त्र-निर्धन जानेछु
भन्लाऊ
मेरो र उसको मृत्युमा अन्तर छ:
उसकोमा मलामीको लस्कर हुनेछन्
लाखौंले श्रद्धान्जलि दिनेछन्
मृत्यु आलेख लेखिने छन्
प्रेमी – का आँशु एकान्तमा झर्नेछन्
फूलैफूलले शव सजाइनेछ
टोल-बजारमा चर्चा हुनेछ
उसको कीर्ति युग-युग रहनेछ
भन्लाऊ
तिम्रो त गुमनाम मृत्यु हुनेछ
मलाई अचम्म लाग्छ:
मृत्युको अगाडि कीर्तिको लोभ
मृत्युको अगाडि अर्थको लोभ
मृत्युको अगाडि शक्तिको लोभ
शवमाथि झण्डाको लोभ
के अर्थ छ ती सबैको
फकिरको होस् या फखरूद्दिनको
मृत्यु आखिर मृत्यु नै हो
वर्षौं-वर्ष ओछ्यानमा थलिएको मृत्यु
वर्षौं-वर्ष किनेको सासमा बाँचेको मृत्यु
विगतले भतभत पोलेको मृत्यु
भविष्यको सपना मरेको मृत्यु
टाकुराबाट हावाले उडा-एको मृत्यु
प्रेयसीको काखमा निदा-एको मृत्यु
जस्तो भए नि — जस्को भए नि
मृत्यु आखिर उस्तै न हो
मृत्यु आखिर मृत्यु नै हो
तैपनि तिमी भन्छौं
उसको र मेरो मृत्युमा अन्तर छ
हो, अन्तर छ
केबल बाँच्नेको दृष्टिमा अन्तर छ
मर्नेको मृत्युमा होइन
मर्नेका लागि त – मृत्यु
सम-शुन्यता हो, सम-समाप्ति हो
सम-शान्ति हो, सम-समाधी हो
राजाको होस् या रङ्कको होस्
मृत्यु आखिर मृत्यु नै हो।
२१ जेठ २०८१ (03 June 2024)



प्रतिक्रिया दिनुहोस्

Screenshot