Logo

कांग्रेस फेरि सरकारमा जाँदैन भनेर कसम खाएर बसेको पार्टी होईन, प्रचण्ड अल्पमतमा परे सोच्छ : रमेश लेखक (भिडिओसहित)



काठमाडौं, ५ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि एमाले र रास्वपाका नेताहरुले नै अविश्वासको अभिव्यक्ति दिएर दबाब दिन थालेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता लेखकले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नमान्ने कुरामा एमाले र रास्वपाका नेताहरुले दबाब सिर्जना गरेको लेखकको भनाई छ । उनले भने,‘अब प्रधानमन्त्रीजी समस्यामा पर्नुहोला भन्ने लाग्छ, यो मेरो अनुमान हो । या त उहाँहरुले भनेको कुरा गर्नुपर्ने होला, या रेजिस्ट गर्यो भने उहाँले छोड्ने होला । सत्ता गठबन्धनभित्र अविश्वास देखियो । त्यो अविश्वासको सार्वजनिक अभिव्यक्ति देखियो । त्यसले चाहीँ फेरि अस्थिरता हुन्छ की भनेर अनुमान हुने भयो नि त ।’

अहिले सत्ताभित्रै अविश्वासको देखिएको हुनाले अहिलेको गठबन्धन फेरिन लागेको भनेर चर्चा भएको उनको भनाई छ । तर, यसमा कांग्रेस भने कहीँपनि नरहेको लेखकको जिकिर छ । उनले भने,‘हामी अहिले गठबन्धन भत्काउने, बदल्ने, फेर्ने, आफू गठबन्धनमा जाने, आफ्नो नेतृत्वमा गठबन्धन बनाउने काममा लाग्दैन् । गठबन्धनभित्र जुन अविश्वास छ, त्यो उहाँहरुको समस्या हो । अब उहाँहरुले आफ्नै कारणले सरकार चलाउन सक्दैन् भने त्यसपछि कांग्रेसले सोच्ने कुरा हो ।’

उनले प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परे वा एमालेसँगको सहकार्य तोडेर आफूहरुसँग सहकार्यको प्रस्ताव गर्न आए सोच्ने जवाफ दिए । उनले भने,‘कांग्रेस सरकारमा जान्नँ भनेर कसम खाएर बसेको पार्टी होईन नि ।’



प्रतिक्रिया दिनुहोस्