Logo

एमालेका मन्त्रीहरुले बुझाए सामूहिक राजीनामा, प्रधानमन्त्री प्रचण्ड अल्पमतमा



काठमाडौं, १९ असार । नेकपा (एमाले) बाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा बुझाएका छन् । आज (बुधबार) प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरुले राजीनामा बुझाएका हुन् ।

साथै, एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । एमालेले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । योसँगै प्रधानमन्त्री प्रचण्डले अब संविधानको धारा १०० बमोजिम संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानले सरकारमा दल विभाजित भएमा वा आफ्नो समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था गरेको छ ।

एमालेबाट प्रचण्ड नेतृत्वको सरकारमा रघुबीर महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी, पदम गिरीले कानुन, न्याय तथा संसदीय मामिला, ज्वालाकुमारी साहले कृषि तथा पशुपंक्षी विकास, बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, दामोदार भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, भगवती चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, राजेन्द्रकुमार राईले खानेपानी र हरिप्रसाद उप्रेतीले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

कांग्रेसको समर्थनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेपछि एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्