Logo

सिंहदरबारबाट बाहिरिए प्रचण्ड सरकारका मन्त्रीहरु (फोटोफिचर)



काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आज अन्तिम मन्त्रिपरिषद् बैठक सकिएको छ । आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, स्थानीय तह, राजश्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका–२०८१ स्वीकृत गर्ने, सरकारी कोषको नगद व्यवस्थापन सम्बन्धि कार्यविधि २०८१ स्वीकृत गर्ने, मन्त्री परिषदको २०८० माघ १८ को निर्णयअनुसार गठित कार्यदलले पेश गरेको फौजदारी न्याय तथा प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१ सार्वजनिक गर्ने र प्रतिवेदनमा औंल्याइएको सुुझावहरु कार्यान्वयन प्रक्रियामा अगाडि बढाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय भएको छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएको भन्दै तत्कालका लागि राष्ट्रिय परिचय पत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको सिफारिसमा हुम्लु जातिलाई जनजातिमा सुचिकृत गर्ने निर्णय पनि भएको छ ।

एमाले र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । प्रधानमन्त्री प्रचण्डले भोलि (असार २८ गते) प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ । प्रचण्डले विश्वासको मत नपाएसँगै उनी भोलि पदमुक्त हुनेछन् ।

प्रधानमन्त्री प्रचण्ड विश्वासको मत नपाएर पदमुक्त भएसँग अरु मन्त्रीहरु पनि स्वतः पदमुक्त हुनेछन् । आजको बैठकलाई प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको अन्मिक बैठकको रुपमा लिइएको छ । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्