Logo

एमालेका १० भाइमाथि फर्किएन ओलीको मन, मन्त्रिपरिषद्मा ‘नो इन्ट्री’



काठमाडौं, १ साउन । नेकपा (एमाले) भित्र नेताहरुको एउटा समूह छ, त्यो ‘१० भाइ’ को नामले परिचित छ । उनीहरु तत्कालीन नेकपाभित्रको अन्तरसंघर्षमा माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पक्षमा उभिएका थिए । नेकपा विभाजन भएर माओवादी र एमाले पूर्ववत अवस्थामा फर्किएपछि ‘१० भाइ’ समूह नेपाल खेमामा उभियो । नेता नेपालले पार्टी विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) बनाएपछि भने उनीहरु एमालेमै बसे । एमाले नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञावाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुषाल, भीम आचार्य, अमृत बोहोरा र रघुजी पन्त ‘१० भाइ’ समूहमा पर्छन् । पार्टीभित्र अन्तरविरोध कायम रहेको बेला उनीहरु अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक मानिन्थे । लगभग १५ वर्ष महासचिव भएर एमालेको नेतृत्व गरेका नेता नेपालले पार्टी विभाजन गर्दा पनि यी ‘१० भाइ’ भने एकताको पक्षमा उभिए । विद्रोह गरेरै भएपनि एमालेमै रहने उनीहरुले अडान लिए ।

‘१० भाइ’ समूहका नेताहरुले पार्टीको १०औं महाधिवेशनमा समेत धक्का खानुपर्यो । २०७९ मंसिरमा भएको आम निर्वाचनमा समेत १० भाइ समूह बहिष्करणमा पर्यो । भीम रावल र घनश्याम भुषाललगायतलाई अवसर नै दिइएन । निर्वाचनबाट बञ्चित गराएपछि घनश्यामले भने त्यही बेला विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिए । रावललगायतका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिने आँटसमेत गरेनन् । अन्ततः घनश्यामले एमाले नै परित्याग गरे ।

एमालेका ‘१० भाइ’ मध्ये भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञावाली, अमृत बोहोरा निष्क्रिय छन् । रावल पार्टीको कुनै पनि सार्वजनिक कार्यक्रममा देखिँदैनन् । पार्टी अध्यक्ष ओलीको विरोध गरेकै कारणको उनको राजनीतिक भविष्य ड्यामेज भएको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ । निर्वाचनको बेलका रावलले ओलीलाई फोन गरेर ‘कमरेड मेरो टिकट के हुन्छ ?’ भन्दा ओलीले ‘भरे रेडियो नेपाल सुन्नुस्’ भन्ने जवाफ दिएका थिए । त्यसपछि उनीहरु बीच झनै दूरी बढेको बताइएको छ ।

एमालेका ‘१० भाइ’ समूहबाट अहिले योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य र रघुजी पन्त सांसद छन् । पन्तबाहेक अन्य तीन जना सांसद प्रत्यक्ष निर्वाचित हुन् । २०७९ मंसिरको आम निर्वाचनमा एमालेविरुद्ध ५ दलीय गठबन्धन बनेको थियो । कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितका दलको उक्त गठबन्धनलाई टक्कर गर्दै १० भाइमध्येका ३ भाइले चुनाव जिते, एक भाइ बल्लतल्ल समानुपातिक कोटाबाट संसद् छिरे । निर्वाचनपछि ५ दलीय गठबन्धनमा खट्पट आयो । अन्ततः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग मिलेर सरकार बनाए । त्यसबेलाको मन्त्रिपरिषद्मा पनि १० भाइमध्येका यी चार भाइले अवसर पाएनन् । त्यसबेला प्रचण्ड निकै छोटो समय एमालेसँगको गठबन्धनमा रहे । अन्नतः एमाले प्रतिपक्षमा धेकेलियो ।

एमाले प्रतिपक्षमा धकेलिसँगै १० भाइमध्येका यी चार भाई पार्टी अध्यक्ष ओलीको ‘रक्षाकवच’ को रुपमा उभिए । पार्टी अध्यक्ष ओलीलाई गिरीबन्धु टी स्टेट जग्गा घोटला प्रकरणका जोडेर विरोध गर्नेहरुलाई उनीहरुले सकडदेखि सदनसम्म जवाफ दिए । ओलीका विश्वास पात्र मानिएका भन्दा बढी यी चार भाइले खरो प्रतिवाद गरे ।

गत २०८० फागुन २१ मा कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड एकाएक एमालेसँग मिल्न पुगे । एमालेले प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा मन्त्रीहरु पठाउँदा समेत यी १० भाइमध्येका चार भाइ चुपचाप रहे । उनीहरुले सत्तामा जाने कुनै इच्छा देखाएनन् । उनीहरु निरन्तर सत्तासमीकरणको बचाउमा उत्रिए ।

प्रचण्डको धोकाबाट हैरान भएका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली गत असार १५ गते बालकोटमा जुटे । ओलीले ‘चिया पिउन आउनुस्’ भनेपछि प्रचण्डको धोकाबाट वाक्कदिक्क भएका देउवा श्रीमती आरजु राणा देउवासहित बालकोट पुगेका थिए । ओली–देउवा बालकोटमा करिब ३ घण्टा जुट्दा प्रचण्ड नेतृत्वको सरकार नराम्रोसँग ढल्यो ।

प्रचण्ड नेतृत्वको सरकार ढलेर एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने निश्चित भएपछि १० भाइमध्येका दुई भाइले मन्त्री बन्न निकै जोडबल गरे । ताप्लेजुङबाट निर्वाचित योगेश भट्टराई र सुनसरीबाट निर्वाचित भीम आचार्य मन्त्री बन्ने दौडमा थिए । उनीहरु अध्यक्ष ओलीले प्रधानमन्त्रीको शपथ ग्रहण गर्नुअघिसम्म बालकोट ओहोर–दोहोर गरिरहन्थे । आचार्य र भट्टराईलाई ओलीले अन्तिम समयमा धोका दिएको स्रोतको दाबी छ । विद्रोह गरेर पार्टीभित्रै बसेका ‘१० भाइ’ प्रति ओलीको मन अझै कठोर रहेको र नेतृत्वमा ओली हाबी हुँदासम्म ‘१० भाइ’ को हरिबिजोग भइरहने एकीकृत समाजवादीभित्र चर्चा हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्