Logo

प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले सुशासनलाई रोमाञ्चित र ठट्टामजाकको विषय बनायोः कांग्रेस नेता विश्वकर्मा



काठमाडौं, १६ साउन । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले सुशासनलाई रोमाञ्चित र ठट्टामजाकको विषय बनाएको टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘फलानोको फाइल खोल्दिन्छु, फलानोलाई आजै पक्रिन्छु, फलानोलाई आज नै पक्रिएँ’ जस्ता अभिव्यक्ति दिएर मजाक गरेको बताएका हुन् ।

प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले भन्नेगरेको आर्थिक समुन्नतिको विषय उदारो नै रहेको, राजनीतिक स्थायित्व परिकल्पनामात्रै भएको र सुशासन भ्रममात्रै बनेको बताउँदै उनले ती विषयमा दृढतापूर्वक काम गर्न कांग्रेस–एमालेको सरकार बनेको दाबी गरे । वर्तमान सरकार कसैलाई प्रधानमन्त्री बनाउन र कसैलाई हटाउनका निमित्तमात्रै नबनेको उनको भनाइ छ । नेता विश्वकर्माले प्रचण्डको गतिविधिले जनता आजित भएपछि वर्तमान सरकार बनेको बताए ।

प्रचण्डले गठबन्धनबाट निर्वाचन जितेर प्रधानमन्त्रीका लागि आलोपालोमा रमाइलो गरेको, उत्ताउलो काम गरेको र घरीघरी सबैलाई मुर्ख बनाउन खोजेको उनको आरोप छ । नेता विश्वकर्माले प्रचण्डको त्यस्ता प्रकारका गतिविधिबाट दलहरु भन्दापनि मतदाता आजित बनेको बताए ।

‘हामीले निर्वाचनको बेलामा जोसँग मिलेका छौं बेइमानी गर्दैैनौं भन्ने थियो । त्यो बेला प्रचण्डलाई कांग्रेस–एमाले ज्यान गएपनि मिल्दैनन् । अब मेरो पाँच वर्ष रजाइँ हुनेभयो । रजाइँमात्रै होईन, मैले जे गरेपनि हुनेभयो । जेगरेमात्रै होई मैले भने पनि हुनेभयो भन्ने लागेर मेरो नेतृत्व र जादुमय संख्याका कारण तपाइँहरु ढुक्क हुनुस् ५ वर्ष भन्ने अभिव्यक्तिले कसैलाई पनि ढुक्क बनाउन सकेन । परिणामस्वरुप यो मुलुकको भविष्यको लागि, जनताको भावना र आकांक्षालाई व्यवहारमा उतार्न कांग्रेस र एमालेको गठबन्धन बन्यो,’– उनले भने ।


साथै, कांग्रेस–एमाले गठबन्धन सरकारको स्थायित्वका बारेमा बोल्दै उनले यो गठबन्धन पूरै अवधि जाने दाबी गरे । अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच एकअर्कामा धोखाधडीको राजनीति नभएको उनको भनाइ छ । उनले प्रधानमन्त्री ओलीले दुई वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै राजीनामा दिन्छु भनेर सार्वजनिक रुपमै प्रतिवद्धता जनाइसकेको पनि नेता विश्वकर्माले स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्