काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा सञ्चालित कक्षा १२ को परीक्षाको नतीजा सार्वजनिक गरिसकेको छ । परीक्षामा सहभागी नियमिततर्फका कूल ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीमा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी पास भएका छन् । यसपटकको कक्षा १२ को परीक्षामा कूल १ लाख ८७ हजार विद्यार्थी असफल भएका छन् । कक्षा १२ को रिजल्टमा यस वर्षपनि खास्सै सुधार भएको देखिँदैन । यसै विषयमा रिपोर्टर्स क्लब नेपालले सरोकारवाला निकायहरुसँग आज (शनिबार) साक्षत्कार कार्यक्रम गरेको छ ।
नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्व शिक्षामन्त्री दीननाथ शर्माले राज्य देश सुहाउँदो शिक्षा नीति निर्माण गर्न नसकेर चुकिरहेको बताए । उनले अहिलेको शिक्षा नीति राष्ट्रको अनुकूल नरहेको बताए । ‘हामी नीतिमा चुकेका छौं । सम्पूर्ण चिजको निर्धारण नीतिले गर्छ । यदि शिक्षा नीति नै गलत छ, सही शिक्षा नीति छैन भने परिणाम राम्रो आउँदैन । आज हामी चुकेको हाम्रो आफ्नो राष्ट्रिय शिक्षा नीति छैन । आफ्नो राष्ट्रको अनुकूल छैन,’– उनले भने ।
आफू शिक्षामन्त्री हुँदा नीति परिवर्तनका लागि अध्यादेशसमेत ल्याएको बताउँदै उनले त्यो राजनीतिक परिस्थितिका कारणले सफल नभएको बताए । त्यस्तै, राम्रो श्रेणीमा पास भएका विद्यार्थीहरु नेपालमा नबसेको बताउँदै उनले यो राष्ट्रिय चिन्ताको विषय रहेको बताए ।
नीतिगत रुपमा नेपालको माटो पढाउनै नसकेको बताउँदै उनले ‘तिमी अग्रेजी पढ, विदेश जान पाइन्छ’ भनेर विद्यार्थीहरुलाई सानै उमेरदेखि सिकाइएको सुनाए । अब देशको माटो सुहाउँदो शिक्षा नीति ल्याउन ढिला गर्न नहुने उनको भनाइ छ ।
‘नीतिगत रुपमा नेपालको माटो, भूगोल, इतिहास, नेपालको संस्कृति, संस्कार र नेपालमै बस्नुपर्छ र यो माटोको माया गर्नुपर्छ भन्ने जब विद्यार्थीहरुको कलिलो दिमागमा हाल्न सक्न्पर्छ,’– नेता शर्माले भने ।