Logo

शतिषजीलाई समर्थन गरेर हामी अप्ठ्यारोमा परेका छौं, केन्द्रीय नेतृत्वले बुझिदिनुपर्छः कांग्रेस नेता यादव (भिडिओसहित)



काठमाडौं, २७ साउन । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादवले मुख्यमन्त्री शतिषकुमार सिंहलाई समर्थन गरेर आफूहरु अप्ठ्यारोमा परेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मधेशमा अहिलेसम्म एमाले–कांग्रेसजस्ता ठूला दलहरु साना दलको नेतृत्वमा बस्न बाध्य हुनुपरेको बताए । उनले साना दललाई विकास, समृद्धि, सुशासनलगायतका कुराको कुनै मतलब नै नरहेको बताए ।

‘शतिषजीलाई समर्थन गरेर त हामी अप्ठ्यारोमा परेका छौं । केन्द्रीय गठबन्धनले उहाँलाई नेतृत्व दियो, हामी त्यसै हिसाबले लागेका छौं । सात वर्षसम्म यो प्रदेशमा नेपाली कांग्रेसले नेतृत्व पाएको छैन । साना–साना दलहरुको नेतृत्वमा बस्न हामी बाध्य भएका छौं । हामी कांग्रेस र एमाले जिम्मेवार पार्टी हो । यो प्रदेशमा के गर्नुपर्छ भनेर हामी जिम्मेवारीपूर्ण निर्णय गर्ने हो । सानो दललाई त्यति मतलब छैन । यो कुरा केन्द्रीय नेतृत्वले बुझिदिनुपर्छ,’– उनले भने ।

साथै, मधेश प्रदेशमा ८ जना राज्यमन्त्रीसहित २० सदस्यीय मन्त्रिपरिषद् बनाउनु दुःखद् र गलत रहेको उनले बताए । उनले अरु दलहरुले राज्यमन्त्री हटानुपर्ने र आफूहरु पनि राज्यमन्त्री फिर्ता बोलाउन तयार रहेको बताए ।

‘यो गलत हो । उहाँहरुले पहिलादेखि नै सरकार गठन गर्नुभएको थियो । हामी पछि आएको हो । उहाँले नेतृत्व गरेको सरकार हो, राज्यमन्त्री हटाइयोस्, हाम्रा पार्टीका राज्यमन्त्रीलाई फिर्ता बोलाउन हामी तयार छौं । मुख्यमन्त्रीले पहिलादेखि नै राखिसकेको मन्त्रीहरुलाई हटाउन गाह्रो छ भन्नुभयो । त्यही भएर हो भएको हो,’– उनले भने ।

अबको मुख्यमन्त्री कांग्रेसले पाउनुपर्ने उनले बताए । उनले सातै प्रदेशमा कुन पार्टीले कतिदिन नेतृत्व गर्ने भनेर केन्द्रीय गठबन्धनले खाका तयार गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्