Logo

बाबुरामलाई धमलाको प्रश्नः ‘राष्ट्रपति बन्नका लागि प्रचण्डलाई निर्वाचन क्षेत्र छाडिदिनु भएको होईन ?’



काठमाडौं, १ भदौ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गत आम निर्वाचनमा गोर्खा निर्वाचन क्षेत्र छोडिदिँदा कुनै सम्झौता नभएको प्रष्ट पारेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कार्यगत एकतासँगै रूपान्तरित भएर अगाडि बढ्ने शर्तमा प्रचण्डलाई निर्वाचन क्षेत्र छाडिदिएको बताए ।

‘राष्ट्रपति बन्नका लागि प्रचण्डलाई निर्वाचन क्षेत्र छाडिदिनु भएको होईन ?’ भन्ने प्रश्नमा उनले आफूलाई चामलसँग नुन साट्ने खुद्रे ब्यापारी नठान्न आग्रह गरे । माओवादीका केही नेताहरुले रूपान्तरणका पक्षमा कुरा गरेको र कार्यगत एकतासँगै आफूले भन्दै आएको लोकतन्त्रमा आधारित समाजवादमा अगाडि बझ्ने समझदारीमात्रै बनेको बताए । नेता भट्टराईले निर्वाचनपछि प्रचण्ड त्यो बाटोमा हिँड्न नचाहेको बताए ।

‘प्रचण्डलाई गोर्खाबाट जिताउँदा लेनदेनको केही सम्झौता थिएन । म जिउँदै छु, प्रचण्डजी जिउँदै हुनुहुन्छ । कुनै लेनदेन थिएन । बाबुराम भट्टराई पदको निमित्त, जुन कुरा सत्य होईन । बाबुरामले व्यापारी जस्तो चामल र नुन साट्ने खुद्रे ब्यापारी ठानेको हो ? त्यो सत्य होईन । त्यतिबेला माओवादी पार्टीैको पनि एमालेसँगको एकता भंग भएको थियो । माओवादी पार्टी त्यही रुपले अगाडि जान सक्दैन थियो ।’ उनले भने, ‘त्यो सन्दर्भमा अहिले कार्यगत एकता गरेर जाउँ । पछि पार्टी नै रुपान्तरण गरेर नयाँ समाजवाद, जुन लोकतन्त्रमा आधारित समाजवाद भनिरहेको छु मैले । त्यसरी रुपान्तरण गरेर जान सकिन्छ भन्ने माओवादीका साथीहरुको भनाइ थियो । त्यसो हो भने कार्यगत एकता हामीले गरेको हो । कार्यगत एकतापछि प्रचण्डजी फेरि त्यो बाटोमा जान चाहनुभएन । त्यो भन्दा बाहेक अरु लेनदेन भन्ने कुरा सत्य होईन ।’

आफूले समाजवादी शक्ति बनाउन चाहेको उनले बताए । गत आम निर्वाचनमा कार्यगत एकता गरेर एमाले, कांग्रेस र माओवादीमा रहेका त्यस्ता मानिसहरुलाई समाजवादी शक्तिमा रुपान्तरण गरेर बृहत वैकल्पिक शक्ति बनाउन खोजेको बताए ।



प्रतिक्रिया दिनुहोस्